
नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकभित्रको अराजकता र अस्थिरता अन्त्य गर्नका लागि एमालेलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
बलियो एमाले बनाउन केपी ओलीको विकल्प नभएको बताउँदै उहाँले अहिलेको अवस्थामा एमालेको पक्षमा गोलबन्ध भए मुलुक ठूलो सङ्कटबाट निस्कने धारणा राख्नुभयो ।

गोदावरी नगर कमिटी ललितपुरद्वारा आयोजित नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन जनपरिचालन सम्बन्धी विस्तारित बैठकमा बोल्दै उपमहासचिव ज्ञवालीले जति मजबुद उपस्थिति त्यति नै प्रभाव पर्ने भएकाले अराजकताको मनोबल गिराउन भए पनि सक्दो पार्टीपङ्क्ती र शुभेच्छुक आगामी २७ गते सल्लाघारीमा भेला हुनुपर्नेमा जोड दिनुभयो ।

पार्टी अध्यक्ष ओली मुलुकको राजनीतिको चुनौतिलाई सामना गर्नसक्ने योग्य नेता भएको यथार्थलाई सबैले बुझ्नुपर्ने उहाँको भनाइ छ । एमालेकै कारण अन्य पार्टीले पनि समाजमा आफ्ना आवाज बढाउन सकेको उहाँले बताउनुभयो ।


नीति र नेताको चयन गर्न छुट्टाछुट्टै महाधिवेशन गर्ने एक मात्र पार्टी एमाले रहेको बताउँदै उपमहासचिव ज्ञवालीले पार्टीलाई आवश्यक परेका बेला उपस्थित हुन नसक्ने नेता र कार्यकर्ताको कुनै अर्थ र महत्व नरहने स्पष्ट गर्नुभयो ।
उहाँले भन्नुभयो– पार्टीलाई आवश्यक परेका बेला उपस्थित हुन नसक्ने नेता कार्यकर्ताको के काम ? त्यस्ता व्यक्तिलाई गहनाको रूपमा सजाउन मिलेन ।
देशमा अहिले पनि जेनजीको खोल ओढेर अराजकता बढिरहेको भन्दै नेता ज्ञवालीले समय आएपछि सबै खुल्दै आइरहेको स्पष्ट पार्नुभयो । कार्यक्रमममा पार्टीका पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले जनताको जीवन बदल्न एमालेको विकल्प नरहेको बताउनुभयो । उहाँले प्रतिगमनको विरुद्धमा मङ्सिर २७ गते सल्लाघारीमा जनलहरका उत्रिनुपर्नेमा जोड दिनुभयो ।
अर्का पोलिटब्युरो सदस्य सुशीला नेपालले अहिले पार्टीलाई मात्र नभएर देशलाई नै केपी शर्मा ओलीको खाँचो रहेको बताउनुभयो । अध्यक्ष ओली र एमालेविरुद्ध देशी विदेशी शक्ति मिलेर षड्यन्त्र गरिएको बताउँदै यो अवस्थामा अध्यक्ष ओलीको विकल्प खोजेर पार्टी कमजोर बनाउन नहुने धारणा उहाँले राख्नुभयो ।
बैठकमा नगर अध्यक्ष विक्रम घिमिरेले महाधिवेशन उद्घाटनको दिन भक्तपुरको सल्लाघारीमा गोदावरी नगरपालिकाबाट हजारौंको उपस्थित हुने गरी तयारी भइरहेको जानकारी गराउनुभयो ।


