
काभ्रेपलाञ्चोक जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनिकरणका लागि पाँचखाल क्षेत्रमा विशेष चेकजाँच अभियान सञ्चालन गरेको छ। प्रहरी चौकी पाँचखाल र अस्थायी ट्राफिक प्रहरी पोष्ट पाँचखालको संयुक्त पहलमा, पाँचखाल आधारभूत अस्पताल दुलालथोकको समन्वय तथा सहकार्यमा अरनिको राजमार्गको पाँचखाल–४ खण्डमा चेकजाँच गरिएको हो।


अभियानका क्रममा सार्वजनिक तथा निजी गरी २१ वटा सवारीका चालक र परिचालकहरूको स्वास्थ्य परीक्षण तथा चेकजाँच गरिएको ट्राफिक प्रहरीले जनाएको छ। परीक्षणमा ५ जना चालकले लागुपदार्थ सेवन गरेको पुष्टि भएको र उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, धुलिखेल पठाइएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।


प्रहरीका अनुसार सवारी दुर्घटना रोकथाम तथा सुरक्षित सडक अभियानलाई अझ प्रभावकारी बनाउँदै यस्ता चेकजाँच आगामी दिनमा पनि निरन्तर गरिनेछ।



