पनौती । पनौती नगरपालिकाको १६ औं नगरसभा सम्पन्न भएको छ । नगरप्रमुख रामशरण भण्डारीको अध्यक्षतामा नगरसभा सम्पन्न भएको हो । नगरसभाले चालु आ.व. २०८१/०८२ मा स्वीकृत बजेट तथा कार्यक्रमलाई कटौती गर्दै विपद पछिको पुनर्वास र पुनर्निर्माणमा लगाउने प्रस्ताव बहुमतले पारित गरेको छ । नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख भण्डारीले १ अर्ब ६० करोडको बजेटलाई संशोधन गर्दै १ अर्ब १४ करोड कायम गरेको जानकारी दिनुभयो । नगरपालिका र वडाका जम्मा ९३९ योजनाहरूमध्ये ५७ करोड ७३ लाख ७५ हजार रकम कटौती गरिएको र विभिन्न शीर्षकमा ११ करोड ७३ लाख ७५ हजार थप गरिएको नगरपालिकाले जनाएको छ ।

नगरसभालाई सम्बोधन गर्दै नगर उपप्रमुख गीता बञ्जाराले असोज १०-१२ गतेको वस्तुस्थिति स्मरण गर्दै आफू उपप्रमुख रहदाँ भुकम्प, कोभिड महामारी, बाढीपहिरोले ठुलो क्षति पुर्याएको बताउनुभयो । उपप्रमुख बञ्जाराले विपत्मा परेका स्थान र नागरिकलाई सम्बोधन गर्नका लागि बजेट संशोधन गरिएको बताउनुभयो । संघ र प्रदेश सरकारले पुनर्वास र पुनर्निर्माणमा सहायता गर्नुपर्नेमा उपप्रमुख बञ्जाराले जोड दिनुभयो । विनासले सही काम गर्न मार्गदर्शन समेत गर्ने भएकाले आगामी दिनमा विपत्तिले क्षति पुर्याउन नसक्ने गरि पुनर्निर्माण गर्नुपर्ने बताउनुभयो । सामुहिक काम गर्नुपर्ने, सार्वजनिक सम्पतिमा अपनत्व लिई ऐक्यबद्धताका साथ काम गर्न सकिएमा विपद्बाबाट छिटो उठ्न सकिने नगर उपप्रमुख बञ्जाराले बताउनुभयो । सभामा नगर उपप्रमुख गीता बञ्जाराले चालु आर्थिक वर्ष २०८१/०८२ को लागि स्वीकृत बजेट तथा कार्यक्रममा पुनरावलोकन सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो ।

सभामा वडाध्यक्ष जयकुमार तामाङले आर्थिक ऐन, २०८१ संशोधन सम्बन्धी प्रस्ताव सभामा पेश गर्नुभएको थियो ।
कार्यक्रममा पनौती नगरपालिका वडा नं. ४ का वडाध्यक्ष दिपक प्रसाद दाहालले चालु आ.व.को मंसिर मसान्तसम्मको आम्दानी खर्च अनुमोदन सम्बन्धी प्रस्ताव नगरसभामा निर्णयार्थ पेश गर्नुभएको थियो ।

कार्यक्रममा पनौती नगरपालिका वडा नं. २ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले पन्ध्रौं नगरसभा पश्चात हालसम्म कार्यपालिकाले विभिन्न मितिमा गरेका निर्णयहरू अनुमोदन सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो ।

नगरसभामा आफ्नो भनाइ राख्नुहुँदै पनौती नगरपालिका वडा नं.२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले गत असोजको बाढी पहिरोको विपत्तिपछि एकतर्फि सडक खोलिएको, वडाबासीहरूले तत्काल बस्ती स्थानान्तरणको विषय उठान गर्न आग्रह गरेको बताउनुभयो । जोखिम न्युनीकरण प्राधिकरणमा बस्ती स्थानान्तरणको माग राख्दा पर्ती जग्गा भएमा सिफारिस हुने तर बस्न लायक जग्गा नभएको बताउनुभयो । नत्र उक्त क्षेत्रलाई खानीक्षेत्र घोषणा गरेमा आ-आफ्नो जग्गा बेचेर नागरिकले आफ्नो व्यवस्था गर्न सक्ने बताउनुभयो । नयाँ गाउँ र आचार्य बस्ती एकदमै जोखिममा रहेको उहाँले बताउनुभयो ।
राज्यले चाहेमा स्थानान्तरण सम्भव भएको बताउनुभयो । पनौती नगरका वडाहरू १, २, ११ र १२ नम्बर बढी क्षति भएको बताउँदै रोशी क्षेत्रमा एकदमै भयावह बनेको बताउनुभयो ।

नगरसभालाई सम्बोधन गर्नुहुँदै वडा नं. ४ का वडाध्यक्ष दिपक प्रसाद दाहालले धेरै नियमित संरचना क्षति भएको बताउनुभयो । खानेपानी कहिले खान पाइएला भन्ने विषय उठिरहेको, जीवन बच्ला नबच्ला भन्दै नागरिकहरू पालमुनि बसिरहेका बताउनुभयो । पनौती नगरपालिकाले बिपत्तिबाट सिर्जना भएको पुनर्स्थापनामा बजेट खर्च गरिएको जानकारी दिनुभयो । नागरिक प्रयासबाट गर्न सकिने सानो काममा समेत नागरिक राज्य, स्थानीय सरकारप्रति निर्भर हुने परिस्थिति सिर्जित भएको त्यो अवस्था जनप्रतिनिधिले पुर्याएको धारणा राख्नुभयो । नगर बनाउने हो भने नगरिकसँग भएको श्रम शक्ति प्रयोग गर्नुपर्नेमा वडाध्यक्ष दाहालले जोड दिनुभयो । विपत्तिले दिएको अवसर पहिचान गर्न सकियो भने मात्र अगाडि बढ्न सकिने दाहालको भनाइ छ ।

कार्यक्रममा बोल्दै पनौती नगरपालिका वडा नं. ५ का वडाध्यक्ष विनोद खत्रीले क्षतिको यकिन विवरण पेश गर्ने कार्यपालिकाले दिएको जिम्मेवारी आफूले पूरा गरेको बताउनुभयो । त्यस अनुसार पनौतीका ७ वटा वडा क्षतविक्षत भएको र क्षतिग्रस्त वडालाई केन्द्रित गर्दै बजेट बनेकोमा आफूलाई खुसी लागेको बताउनुभयो । पुनर्वास र पुनर्निमाणका कामहरू गर्नुपर्ने र यसका लागि प्रदेश र केन्द्रिय सरकार सामु उक्त एजेण्डा लिएर जानुपर्ने उहाँले बताउनुभयो ।

नगरसभालाई सम्बोधन गर्दै वडा नं. ६ का वडाध्यक्ष भिम प्रसाद आचार्यले अन्य वडाको तुलनामा आफ्नो वडामा क्षति नभएको बताउँदै कृषि क्षेत्र, बाटो घाटो क्षति भएको बताउनुभयो । वडा कार्यालय बनाउने पर्ने थियो तर अहिलेको अवस्था विपत्तिको भएको बताउनुभयो । कृषि क्षेत्रको क्षतिमा मलमपट्टि लगाउन आवश्यक रहेको बताउनुभयो ।

नगरसभालाई सम्बोधन गर्दै वडा नं. ७ का वडाध्यक्ष सबिन ताम्राकारले रोशी खोला किनार तटबन्ध गर्न अनुरोध गर्नुभयो । अव्यवस्थित रुपमा ३०/४० वर्षदेखि बस्दै आएकाले उहाँहरूको व्यवस्थापनमा नगरपालिकाले निर्णय गर्नुपर्ने बताउनुभयो । वडा नं. ७ रोशी खोलाको किनारलाई व्यवस्थित गर्न नसकिएमा सम्पदा क्षेत्र संरक्षित क्षेत्र भनिएको पुरानो बजार क्षेत्रलाई असर गर्न सक्ने बताउनुभयो । कहीकतैबाट बजेट व्यवस्थापन गरेर त्यसलाई निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । विश्वसम्पदा सूचीमा सूचीकृत हुन लागेको पनौती सम्पदा क्षेत्रमा धेरै घरलाई कलात्मक शैलीमा पुनर्निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

नगरसभालाई सम्बोधन गर्दै वडा नं. ८ का वडाध्यक्ष बेद प्रसाद बञ्जाराले असोज दोस्रो साताको बाढी र पहिरोले ३० औं वर्षको विकास संरचनाहरू नष्ट भएको बताउनुभयो । ‘सिंचाई, खानेपानी, स्वास्थ्य र शिक्षाको कुरामा सबैको इच्छा थियो । आर्थिककै कारणले सबै ठाउँमा सबै कुरा पुर्याउन सम्भव भएन’ बञ्जाराले भन्नुभयो ।

नगरसभालाई सम्बोधन गर्दै वडा नं. ९ का वडाध्यक्ष सहकुल प्रसाद हुमागाईंले गत असोजको विपत्तिले पनौती नगरपालिकाको १ अर्बको संरचनामा क्षति भएको बताउनुभयो । यस्तो बिपत्तीमा प्रदेश र केन्द्रबाट सहयोग लिन अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । फोहोरमैला, ढल, स्मारक क्षेत्र र पनौती क्षेत्रीय रंगशालाको स्तरोन्नतिको काम अघि बढाउन सुझाव प्रस्तुत गर्नुभएको थियो । विपद् पश्चात निर्माण गरिने संरचना पुन:क्षति नहोस् नोक्सान नहुने गरि संरचना बनाउन जोड दिनुभयो । पनौतीबासी एकताबद्द ढंगले लागेमा बिपत्तिबाट उठ्न सकिने बताउनुभयो ।

नगरसभालाई सम्बोधन गर्दै वडा नं. ११ का वडाध्यक्ष विपिन लामाले आफ्नो वडामा बिजुली, खानेपानी, सडक पुनर्स्थापना भइसकेको बताउनुभयो । विपदमा सहयोग गर्ने नेपाल आर्मी, आश्रय दिने रिसोर्टलाई धन्यवाद व्यक्त गर्नुभयो । नागरिकलाई बचाउने कामको खुलेर प्रशंसा गर्नपर्ने उहाँले बताउनुभयो । उहाँले ११ नं. वडा अत्यन्त क्षतिग्रस्त भएको बताउनुभयो । ११ नं. वडामा ५ जना नागरिकको मृत्यु भएको थियो ।
वडा नं. ११ मा १६१ घर पूर्ण क्षति भएका छन् भने २१७ घरधुरी उच्च जोखिममा रहेका छन् । अहिले पनि बस्तीहरूमा मान्छेहरू भेट्न नसकिने भएको बताउनुभुयो । सबै मानिसहरू बिस्थापित भएको बताउनुभयो । पनौती नगरपालिका वडा नम्बर ११ धेरै क्षति भएको बताउनुभयो । बाटाघाटाहरू र बिजुली पुनर्स्थापना गरेको बताउनुभयो । २० लाख बजेट आफ्नो वडालाई कम भएको बताउनुभयो । पानीमा लगानी गर्नुपर्ने, खानी बन्द गर्ने भन्दा पनि अवैध खानी बन्द गर्नका लागि पहल गर्नुपर्ने बताउनुभयो । प्रक्रिया नपुगेका खानी बन्द गर्नुपर्ने बताउनुभयो । अहिले नागरिक काकाकुल भएको अवस्थामा पानीको व्यवस्था गर्न लागि पर्नुपर्ने बताउनुभयो ।

नगरसभालाई सम्बोधन गर्दै वडा नं. १२ का वडाध्यक्ष जयराम केसीले विपद् व्यवस्थापनको लागि नीति बनाउनुपर्ने बताउनुभयो । तीन महिना बितिसकेकाले फास्ट ट्रयाकको रुपमा काम गर्नुपर्ने बताउनुभयो । तटबन्ध बनाउने जमिन संरक्षण गर्नुपर्ने बताउनुभयो । खानी र पानी दुवै चलाउनुपर्ने व्यवस्थित र वैधानिकता पूर्वक चलाउनुपर्ने स्पष्ट पार्नुभयो । यथार्थलाई मूल्याङ्कन गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । जनप्रतिनिधिको चरित्रहत्या नभई नगरको चौतर्फी विकासमा कलम चलाउन सञ्चारकर्मीलाई सुझाव दिएका थिए ।

सभामा नगरप्रमुख भण्डारीले बिभिन्न प्रस्ताव निर्णयार्थ पेश गर्नुभएको थियो। सभामा उठेका प्रश्नहरूको जवाफ दिदै नगरप्रमुख भण्डारीले बजेट कटौती भयो पनौती विश्व सम्पदा सूचीमा समावेश हुँदैन भन्ने हल्ला मात्र भएको बताउनुभयो ।
भण्डारीले विपद्मा २२ सरकारी भवन, ११ सार्वजनिक भवन, ५८६ घर पूर्ण क्षति र ९४४ घरधुरी उच्च जोखिममा रहेको जानकारी दिनुभयो । ११ हजार ३७ रोपनी जमिन बगाएको छ । ४ करोड ७ लाख बराबरको क्षति भयो । २० किमी भन्दा बढी कच्ची सडक र ११ किमी पक्की सडक क्षति भएको प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

नगरसभामा पनौती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, नगरपालिका अन्तर्गतका विभिन्न शाखाका शाखा प्रमुखहरू, कार्यपालिका सदस्यहरू, कर्मचारीहरू, सञ्चारकर्मीहरू लगायत सरोकारवाला व्यक्तित्वहरूको सहभागिता रहेको थियो

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly