


बुडोल, मंसिर ८ : बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाले सहकारी संस्था (साधारण सभा कार्यव्यवस्था) निर्देशिका, २०७६ अनुसार चारवटा एकाइ बैठक एकै समय तालिकामा आयोजना गरी समान कार्यसूचीमा छलफल गरेको थियो। मंसिर ६ गते सम्पन्न एकाइ बैठकमा कुल सदस्य संख्याको ५६.२१ प्रतिशत सदस्य उपस्थित रहेको थियो।


साधारण सभाले आर्थिक वर्ष ०८१/०८२ को नाफाबाट सदस्यहरुलाई ८ प्रतिशत लाभांश र संरक्षित पूँजी फिर्ता कोषमार्फत बचतमा गरेको योगदानमा २.८ प्रतिशत तथा ऋणमा गरेको योगदानमा २.५ प्रतिशत अतिरिक्त लाभ वितरण गर्ने निर्णय गरेको छ। साथै, संस्थाको आफ्नै भवन निर्माण गर्ने र सदस्यहरुको शेयर रकम समान रुपमा दश हजार कायम गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिइएको छ।

अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०८१/०८२ मा कुल ४ करोड १७ लाख ८४ हजार ६७२ रुपैयाँ ६४ पैसा सञ्चालन मुनाफा गरेको छ। सोही अवधिमा संस्थाको कुल सम्पत्ति २ अर्ब १२ करोड ५७ लाख २० हजार २२५ रुपैयाँ ६८ पैसा, बचत हिसाब १ अर्ब ७७ करोड ३ लाख १० हजार १८५ रुपैयाँ ८५ पैसा, शेयर पूँजी ३७ करोड २१ लाख ९९ हजार ७०० रुपैयाँ, संस्थागत पूँजी १८ करोड ४८ लाख ८६ हजार १४१ रुपैयाँ २१ पैसा, र लगानीमा रहेको ऋण १ अर्ब ४३ करोड ५९ लाख २२ हजार १७१ रुपैयाँ ४० पैसा रहेको छ।



