
काठमाडौं,
मंसिर २ ।


नेपाली चलचित्र शिक्षाको स्तर उकास्ने दीर्घकालीन लक्ष्यसहित चलचित्र विकास बोर्डले २०८२ सालका लागि विभिन्न तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । फिल्मसम्बन्धी अध्ययन र अनुसन्धानलाई प्रोत्साहन गर्न बोर्डले यो कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ । बोर्डका अनुसार यसवर्ष माध्यमिक तह (कक्षा १२) मा चलचित्र विषय लिएका विद्यार्थीलाई वार्षिक १५ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ । यस्तै, स्नातक तहमा चलचित्रसम्बन्धी विषयमा अध्ययनरत विद्यार्थीले वार्षिक ५० हजार रुपैयाँ पाउनेछन् ।


छात्रवृत्ति खुला, महिला तथा समावेशी समूह (मधेसी, दलित, आदिवासी जनजाति)लाई लक्षित गराएर वितरण गरिएको बोर्डले जनाएको छ । यस कदमले फिल्म शिक्षामा पहुँच विस्तार र विविध समुदायका प्रतिभालाई अघि बढाउने उद्देश्यलाई सुदृढ बनाएको बोर्डको भनाइ छ । आर्थिक कारणले उच्च शिक्षा पछ्याउन कठिनाइ भोग्ने विद्यार्थीका लागि यो कार्यक्रम प्रोत्साहनका रूपमा रहेको छ ।

त्यसैगरी, स्नातकोत्तर तहमा चलचित्रसम्बन्धी अनुसन्धान गरिरहेका विद्यार्थीलाई २५-२५ हजार रुपैयाँ अनुदान प्रदान गरिएको छ । चलचित्रका सामाजिक, सांस्कृतिक, सौन्दर्यशास्त्रीय तथा नीतिगत पक्षमा आधारित अनुसन्धानलाई प्रोत्साहन दिने उद्देश्यले अनुदान प्रदान गरिएको हो । अनुसन्धानबाट प्राप्त सामग्रीले चलचित्रसम्बन्धी नीतिगत सुधारमा योगदान पुग्ने बोर्डले विश्वास व्यक्त गरेको छ ।
स्नातकोत्तर तहमै चलचित्र ऐन-नियम, नीतिगत अध्ययन तथा शोधपत्र लेखनका लागि पनि २५ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको बोर्डले जनाएको छ । यसले भविष्यमा आवश्यक पर्ने पेशेवर अनुसन्धानकर्ता, योजनाकार र नीति निर्माता उत्पादनमा सहयोग गर्ने अपेक्षा गरिएको छ । चलचित्र विकास बोर्डका अनुसार, शिक्षा, अनुसन्धान र समावेशी प्रतिभा विकासमार्फतै फिल्म उद्योगको दिगो विकास सम्भव हुने भएकाले छात्रवृत्ति कार्यक्रमलाई दीर्घकालीन रूपमै अघि बढाइनेछ । यस कार्यक्रमले नेपाली चलचित्र क्षेत्रका भावी पेशेवरलाई प्रेरित गर्ने र क्षेत्रलाई व्यवस्थित बनाउन योगदान पु¥याउने विश्वास बोर्डले जनाएको छ ।


