
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले युवाहरूलाई आफ्नै गाउँ फर्केर नेतृत्व विकास गर्नुपर्ने बताएका छन् ।सोमबार सिंहदरबारस्थित मन्त्रालयमा ‘जेनजी २.०’ ले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री पुनले यस्तो आग्रह गरेका हुन् । उनले कतिपय मागहरू पूरा गर्न नसक्ने किसिमका रहेको बताए ।
आगामी निर्वाचनबाट युवा जिताएर ल्याउन र आफ्नै सरकारबाट सबै मागहरू पूरा गर्न उनले आग्रह गरे । आफैँ निर्वाचनमा भाग लिएर जितेर आएर आफ्ना मागहरू पूरा गर्न उनको सुझाव थियो ।मन्त्रालय आउँदै मन्त्रीलाई ज्ञापनपत्र बुझाएर माग पूरा नहुने भन्दै आफैँ गाउँ फर्किएर निर्वाचनमा भाग लिए निर्वाचन जितेर आएर आफ्नै सरकार बनाइ माग पूरा गर्न उनले आग्रह गरे । केही मागहरू भने विचार गर्न सकिने मन्त्री पुनको भनाइ छ ।


‘जेनजी २.०’ ले १६ वर्षको उमेरमा एसइई पास गरी सीटीईभीटी मा पढेर देश विदेशमा काम गरी जीविका चलाउन तथा देश विकाशमा योगदान गर्न चाहने विद्यार्थी र देशको भविष्यसँग जोडिएको प्राविधिक शिक्षाका समस्याहरू समाधान गर्न १ हप्ताको अल्टिमेटम दिएको छ । विद्यार्थीका मागहरू समयमा पूरा नगरे त्यसपछिको अवस्थाको जिम्मेवारी सीटीईभीटीको हुने बताएको छ । यसै वर्ष सीटीईभीटीको छनौट प्रक्रिया पूरा गरी स्टाफ नर्स पढ्न चाहेका १० हजार विद्यार्थीलाई स्टाफ नर्स पढ्ने व्यवस्था गर्न माग गरेको छ ।





