


काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ कात्तिक २४ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका दान बहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । गृह मन्त्रालय सिंहदरबारमा बिहीबार आयोजित विशेष समारोहबीच गृहसचिव रामेश्वर दंगालले प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभएको हो ।


सुशोभन समारोहमा गृहसचिव रामेश्वर दंगालले नेपाल सरकारले विधि र पद्धतिको आधारमा नेपाल प्रहरी संगठनको प्रमुखको रूपमा नियुक्त गरी प्रहरी महानिरीक्षक कार्कीलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको चर्चा गर्दै प्रहरी महानिरीक्षक कार्कीको कार्यकालमा समग्र मुलुकमा शान्ति सुरक्षा कायम गर्ने लगायत नेपाल प्रहरीको अन्य जिम्मेवारीहरूमा सफलता मिल्ने विश्वास व्यक्त गर्दै नेतृत्वकालको पूर्ण सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।

गृहसचिव दंगालले हालको परिस्थितिमा निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुका साथै मुलुकमा भएका विभिन्न खालका विकृति विसंगतिहरूलाई अन्त्य गरेर पूर्णरूपमा सुशासन कायम गर्ने दायित्व सरकारले लिएको उल्लेख गर्दै यस दायित्व निर्वाह गर्नका लागि नेपाल प्रहरीको अहम भूमिका रहेको र यस भूमिका निर्वाह गर्न नेपाल प्रहरी सफल समेत हुने अपेक्षा रहेको बताउनुभयो । नेपाल प्रहरीको प्राथमिकताहरू, कार्ययोजना, नीतिगत परिवर्तन, नेपाल प्रहरीमा गर्नुपर्ने सुधारका विषयहरू, देखापरेका चुनौति तथा भावी योजनाहरू लगायतका विषयहरूलाई सम्बोधन गर्न गृह मन्त्रालयले सदैव समन्वय, सहजीकरण र सहयोग गरिरहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले करिब अठ्ठाइस वर्षको अनुभव, कर्तव्यपरायणता, देश र नागरिकको सुरक्षाका खातिर सम्पादन गरेका कार्यको मूल्याङ्कन तथा संगठनप्रतिको निष्ठा र इमान्दारिताको कदर गर्दै नेपाल सरकारले आफूलाई प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गर्नुभयो । साथै प्राप्त यस विशिष्ट जिम्मेवारीलाई पेशागत अनुशासन, पारदर्शीता र जवाफदेहिताका साथ वहन गर्दै नागरिक सेवाभावको पूर्ण प्रत्याभूति हुने गरी प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले देशमा सुशासन कायम गर्ने तथा निकट भविष्यमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने नेपाल सरकारको अभिभारा, विभिन्न आयामका सुरक्षा चुनौतिहरूको विद्यमानता र संकट पश्चात उठ्दै गरेका प्रहरीका भौतिक संरचना र मनोबलको सन्दर्भमा प्राप्त यो जिम्मेवारीबाट असाधारण अपेक्षाहरू रहेको तथ्य प्रति पूर्ण रूपमा जानकार र सचेत रहेको बताउनुभयो । असाधारण परिस्थितिमा प्राप्त यस जिम्मेवारीलाई नेपाल सरकार गृह मन्त्रालय, अन्य सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी निकायहरू एवम् समुदायसँग प्रभावकारी समन्वय, सहकार्य सहित संगठनको सुदृढिकरण र सामूहिकता प्रदर्शन गरी प्रहरी कर्मचारीहरूको मनोबल बढाउँदै नेपाल सरकार र आम जनसमुदायको अपेक्षा अनुरूप कार्यसम्पादन गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्दछु ।
कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवम् संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीले बिहीबार आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको छ । प्रहरी महानिरीक्षक कार्की नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू तथा जवानहरूले हार्दिक स्वागत गर्नुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण समेत गर्नुभयो ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको सङ्क्षिप्त जीवनी :
प्रहरी महानिरीक्षक दान बहादुर कार्की नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ कात्तिक २४ गतेको निर्णयअनुसार उहाँ नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति हुनुभएको हो ।
गुल्मी जिल्लाको साविक घमिर-५ हाल मालिका गाउँपालिका वडा नम्बर ७ मा पिता कृष्ण बहादुर कार्की र माता चन्द्रकला कार्कीको कोखबाट वि.सं. २०२९ साउन १५ गते जन्मनु भएका प्रहरी महानिरीक्षक दान बहादुर कार्कीका श्रीमती नविना कार्की र २ छोरीहरू हुनुहुन्छ । प्रहरी महानिरीक्षक कार्कीले वि.सं. २०५४ चैत १८ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गर्नुभएको हो । प्रहरी सेवामा साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाउनुभएका प्रहरी महानिरीक्षक कार्की २०६६ मंसिर २६ गते प्रहरी नायव उपरीक्षक, २०७४ साउन १९ गते प्रहरी उपरीक्षक, २०७९ साउन ३ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०८१ जेठ १३ गते प्रहरी नायव महानिरीक्षक र २०८२ वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको थियो ।
राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका प्रहरी महानिरीक्षक कार्कीले उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम, अप्रेशनल कमाण्ड तथा व्यवस्थापन, सार्वजनिक विरोधहरूमा कानुन कार्यान्वयन संस्थाहरूको भूमिका र उत्तरदायित्व, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, ह्युमन राइट्स इन ल इन्फोर्समेन्ट ट्रेनिङ कोर्ष, कोल्याप्स्ड स्ट्रक्चर सर्च एण्ड रेस्क्यू कोर्ष, प्रशिक्षक प्रशिक्षण तालिम, मेडिकल फस्ट ररेस्पोण्डर कोर्ष, अपराध अनुसन्धान लगायत विभिन्न २२ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुभएको छ । प्रहरी महानिरीक्षक कार्की प्रवल जनसेवा श्री, संयुक्त राष्ट्र संघ पदक लगायतका विभूषणबाट विभूषित हुनुहुन्छ । यसैगरी उहाँले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत विभिन्न समयमा नगद पुरस्कार प्राप्त गर्नुको साथै विभिन्न प्रशंसापत्रद्वारा सम्मानित हुनुभएको छ ।
अब्बल एवम् कुशल नेतृत्त्वदायी भूमिकामा रहने प्रहरी महानिरीक्षक कार्कीले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा सशस्त्र प्रहरी गण नेपालगंज, जिल्ला प्रहरी कार्यालय रूकुम, जिल्ला प्रहरी कार्यालय तनहुँ, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, इलाका प्रहरी कार्यालय आँबुखैरेनी, अञ्चल प्रहरी कार्यालय महाकाली, पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरा, इलाका प्रहरी कार्यालय बुटवल, महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर, जिल्ला प्रहरी कार्यालय सप्तरी, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ, प्रहरी प्रधान कार्यालय लगायतका युनिटमा खटिएर जिम्मेवारी पूरा गर्नुभएको थियो । प्रहरी उपरीक्षक भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कपिलवस्तु लगायतका कार्यालयहरूमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक भएपछि उहाँले कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, नेपाल प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौंमा आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएको थियो । प्रहरी नायव महानिरीक्षकमा नेपाल प्रहरी प्रधान कार्यालय र लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको कमाण्ड गर्नुभएका कार्की २०८२ वैशाख ११ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । प्रहरी अतिरिक्त महानिरीक्षकमा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड समेत गर्नुभएको थियो ।


