
काठमाडौं । नेकपा एकीकृत समाजवादी छाडेर एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्रीले एमाले छाड्नुको सजाय आफूलाई समयले दिएको र दिने बताएकी छन् ।


सोमबार एमालेको घर फर्क राष्ट्रिय अभियान मार्फत एमालेमा फर्कँदै झाँक्रीले नेकपा एमाले नेपालको कम्युनिष्ट आन्दोलनको मात्र नभइ राष्ट्रिय राजनीतिकै मूल प्रवाह भएको समेत बताइन् । झाँक्रीले जेनजी आन्दोलनको नाममा भएको आन्दोलन सरकार र एमाले विरुद्ध सुनियोजित षडयन्त्र भएको बताइन् ।


एमालेको नर्सरीमा हुर्किएका सबै मानिसहरू आजको राष्ट्रको जिम्मेवारी पुरा गर्नको लागि एक ठाउँमा उभिनु पर्नेमा उनले जोड दिइन् । उनले जेनजी युवाहरूलाई एमालेमा आउन र आह्वान गरिन् । एमालेले सबैलाई पार्टी प्रवेशमा चारै तिरका ढोका खुल्ला गरेको अनुभूत गरेको उनले बताइन् । उनले माधव नेपालको पछि लागेर केही नहुने बताउँदै सबैलाई मूलप्रवाहमा फर्कन आग्रह गरिन् ।

त्यस्तै नेकपा (एमाले)मा पुनः फर्किएका एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ (किसान)ले पार्टीबाट विद्रोह गर्नु आफ्नो जीवनकै सबैभन्दा ठुलो गल्ती भएको बताए । नेता श्रेष्ठले पुनः एमालेको मञ्चबाट जनताको विश्वास जित्नेगरी समर्पणपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले देशभर आफूजस्ता धेरै कार्यकर्ता र नेताहरू पुनः एमालेमा फर्कने विश्वास पनि व्यक्त गरे ।


