
लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. का प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी सहकारी क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि सक्रिय छन्। समुदाय–आधारित सेवा, पारदर्शिता र सदस्य सशक्तीकरणलाई आफ्नो मूल लक्ष्य बनाउँदै काम गर्दै आएका रायमाझीसँग सहकारी क्षेत्रको वर्तमान अवस्था, समस्या, सुधारका उपाय तथा सहकारीको वास्तविक मर्मबारे विस्तृत कुराकानी गरिएको थियो। प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले लक्ष्मी महिला साकोसको प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीसँग गरेको कुराकानी ।


० तपाईंको व्यक्तिगत पृष्ठभूमिबारे बताइदिनुहोस् न ?
म मनोज रायमाझी, स्थायी ठेगाना काभ्रेपलाञ्चोक जिल्ला, साविक भिमखोरी VDC हाल रोशी गाउँपालिका–११। बाल्यकालदेखि माध्यमिक तहसम्मको अध्ययन गाउँमै पूरा गरेँ । एसएलसीपछि काठमाडौंमा केही समय अध्ययन गरेँ तर पुनः काभ्रे फर्किएर यहीँबाट उच्च शिक्षा जारी राखेँ। “पहिले अध्ययन पूरा गरेर मात्र अन्य कामतिर लाग्ने” सोचका साथ पढाइसँगै सामान्य काम गर्दै अघि बढेँ र बि.स. २०७५ तिर व्यवस्थापन संकायमा स्नातकोत्तर पूरा गरेँ । अध्ययनपछि धेरैले पेशा परिवर्तन वा विदेश जाने सुझाव दिए, तर म चाहिँ समुदायमै काम गर्न, सहकारीमार्फत सेवा पुर्याउन आकर्षित भएँ। शायद मानिससँग सहज घुलमिल हुने स्वभावका कारण पनि सहकारी पेशा मलाई मन पर्यो।


० लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको परिचय दिनु पर्दा ?
बि.स.२०५५ साल चैत्र १३ गते देखि शुरु भई बि.स. २०५६ जेष्ठ १० गते विधिवत रुपमा डिभिजन सहकारी कार्यालय धुलिखेलमा दर्ता भई निरन्तर “समुदायमा आधारित दिगो उत्कृष्ट व्यवसायिक महिला सहकारी संस्था” बनाउने परिकल्पनाका साथ निरन्तर रुपमा बचत,ऋण,आर्थिक,सामजिक सुरक्षा तथा विप्रेष्णका सेवा मार्फत आर्थिक सुविधा र गैर आर्थिक अन्य सुविधा समेत पनौती,धुलिखेल र बनेपा नगरपालिकाका सम्पुर्ण दिदि बहिनीहरुलाई सक्षम तथा जीबनस्तर उकास्न निरन्तर सहयोग गर्ने सोचले खोलिएको संस्था जस्तो लाग्छ ।
“एकका लागि सबै, सबैका लागि एक” सहकारीको मूल मन्त्रलाई आत्मसाथ गर्दै सहकारी सिद्धान्तको आधारमा लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था नामाकरण गरि बि.स.२०५५ साल चैत १३ गतेबाट सुरु भएको यस संस्था आज २७ औं बर्षमा अगाडी बढिरहेको छ। यस अवधिमा आफ्नो कार्य क्षेत्रमा रहेका महिलाहरु मात्रको आर्थिक, सामाजिक लगायत हरेक क्षेत्रमा सहयोगकालागि काम गर्ने उद्देश्य लिएको भएतापनि यसले अन्य संस्थाले जतिनै पुरुष तथा बालबालिका र विकाश निर्माण क्षेत्रमा पनि काम गरिरहेको सबैमा सर्वविदितै छ। आगामी दिनहरुमा पनि आफ्नो सदस्यहरुको बृद्धी विकाशमा सेवा पुर्र्याउन तथा उनीहरुको सामाजिक र आर्थिक उत्थानका लागि कार्य गर्न समुदायमा आधिरित दिगो तथा सक्षम, उत्कृष्ट वित्तीय महिला सहकारीको रुपमा बिकाश गर्न हामी प्रयासरत छौं। यसका लागि सम्पूर्ण शेयर सदस्यहरु, शुभचिन्तकहरु, जिल्ला, प्रदेश तथा केन्द्रीय संघहरु र स्थानीय निकायहरुको साथ–सहयोग, सुझाव र सल्लाहा अनुसार नै अघि बढिरहेका छौ ।

० तपाई लक्ष्मी महिला सहकारीको प्रबन्धक हुनुहुन्छ, आफ्नो शेयर सदस्यहरुलाई कस्तो सुविधा दिनुभएको छ, यो परिस्थितिमा ?
वर्तमान परिप्रेक्ष्यमा सहकारी संस्थामार्फत सदस्यहरूलाई सुलभ, किफायती र गुणस्तरीय सेवा–सुविधा प्रदान गर्न सकिने देखिन्छ। संस्थाले आफ्ना स्रोत र साधनको उचित परिचालन गर्दै सदस्यहरूको आवश्यकता र अपेक्षाअनुसार वित्तीय तथा गैर–वित्तीय सेवाहरू विस्तार गर्ने प्रयास जारी राखेको छ । यसै सन्दर्भमा, संस्थाले आगामी दिनहरूमा अझ प्रभावकारी सेवाप्रवाहका लागि प्रविधिमुखी कार्यप्रणाली अपनाउने र सदस्य हितमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने योजना तयार गरेको छौ ।
लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि.ले स्थापना कालदेखि नै सदस्यहरूलाई आर्थिक, सामाजिक र आत्मनिर्भर बनाउने उद्देश्यका साथ सहकारी सिद्धान्तअनुसार सेवा प्रदान गर्दै आइरहेका छौ। हालको परिस्थितिमा हाम्रो सहकारीले शेयर सदस्यहरूलाई निम्न सुविधा र सेवाहरु उपलब्ध गराउँदै आएको छ ।
१. बचत सेवा
हाम्रो सहकारीले सदस्यहरूका लागि विभिन्न किसिमका बचत खाता सञ्चालन गरेको छ — जस्तै साधारण बचत, आवधिक बचत, विशेष योजना बचत आदि। यस माध्यमबाट सदस्यहरूले आफ्नो स–साना रकम सुरक्षित राखी आकर्षक ब्याजदर प्राप्त गर्दै आउनु भएको छ ।
२. ऋण सुविधा
सदस्यहरूको आवश्यकताअनुसार व्यवसायिक, कृषि, शिक्षा, आवास, उपभोग्य लगायतका प्रयोजनका लागि सरल ब्याजदरमा ऋण सुविधा प्रदान गरिएको छ। साथै समयमै किस्ता तिर्ने सदस्यहरूलाई प्रोत्साहनस्वरूप छुट तथा सम्मानको व्यवस्था गरिएका छौ ।
३. बीमा सुविधा
सदस्यहरूको सुरक्षालाई ध्यानमा राख्दै जीवन बीमा, स्वास्थ्य बीमा र ऋण बीमा योजना लागू गर्न सम्झौता गरिएको छ। सदस्यको असामयिक निधन वा दुर्घटनाको अवस्थामा हाल सम्म सदस्य राहतकोष मार्फत रकम उपलब्ध गराउदै आएको र अब छिटै सदस्यहरुलाई आबद्ध गराई सुविधा प्रदान गर्ने योजना तयार पारिसकेका छौ ।
४. सामाजिक उत्तरदायित्वका कार्यक्रम
हाम्रो संस्था आर्थिक सेवा मात्र नभई सामाजिक उत्तरदायित्वमा पनि सक्रिय छ। स्वास्थ्य शिविर, विद्यालय सामग्री वितरण, वृक्षारोपण, रक्तदान, र जेष्ठ नागरिक सम्मानजस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएका छौ।
५. सदस्य सिप र क्षमता विकास
सदस्यहरूको सीप, दक्षता र नेतृत्व क्षमता विकासका लागि सहकारी, वित्तीय साक्षरता, उद्यमशीलता र डिजिटल सेवा सम्बन्धी तालिमहरू आयोजना गर्दै आइरहेका छौं। यसबाट सदस्यहरूलाई आत्मनिर्भर र प्रतिस्पर्धी बन्न सहयोग पुगेका छ ।
६. डिजिटल सेवाको विस्तार
सहकारी सेवालाई समयानुकूल र सहज बनाउनका लागि मोबाइल बैंकिङ, क्यूआर पेमेन्ट, र अनलाइन खाताको विवरण हेर्ने प्रणाली सञ्चालन गरिएको छ। यसले सदस्यहरूलाई घरमै बसेर वित्तीय कारोबार गर्न सजिलो वातावरण सिर्जना गरेको छ।
७. लाभांश तथा संरक्षित पूँजीफिर्ता कोष वितरण
संस्थाले प्रत्येक आ.व.को अन्त्यमा नाफा अनुसार शेयर सदस्यहरूलाई न्यायसंगत लाभांश तथा संरक्षित पुँजिफिर्ता कोष वितरण गर्दै आएका छौ, जसले सदस्यहरूको लगानी प्रति विश्वास र उत्साह बढाएको छ । हामिले हरेक सदस्यहरुलाई स्व. सहकारी बिद् कैलाश भक्त प्रधाना∙ज्यूले भन्नु भए जस्तै सहकारी जब नाफामुखि हुने कुरा उठ्छ , यो असत्यको बाटोमा जान्छ । यदि सहकारी सेवामुखि व्यबसाय हो भन्ने बुझयौ भने हामी सत्यको बाटोमा हिड्न सक्छौ भन्ने बुझाउदै आएका छौ ।
८. महिला सशक्तिकरण कार्यक्रम
हाम्रो सहकारी महिलामुखी संस्था भएकाले, महिलाको आर्थिक सशक्तिकरण र आत्मनिर्भरता विकासका लागि सिप विकास, स्वरोजगार प्रवद्र्धन र उद्यमशीलता सम्बन्धी कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको छ।
० अहिले सहकारीमा देखिएका समस्याहरु के के छन् त ?
नेपालका अधिकांश सहकारीहरू (विशेषगरी बचत तथा ऋण सहकारीहरू) मा अहिलेका समयमा देखिएका मुख्य समस्याहरू निम्न प्रकारका छन् ।
१. धेरै सदस्यहरूले समयमा किस्ता तिर्न नसक्दा सहकारीको नगद प्रवाह कमजोर भएको छ । केही ऋणहरू लामो समयसम्म असुल नहुने र असुल प्रक्रिया जटिल भएकोले ऋण फिर्ता नहुने समस्या छ
२. धेरै सदस्यहरू केवल नाममात्रका शेयरधनी भएका छन्, तर सहकारीका निर्णय, बैठक, तालिम वा कार्यक्रममा सहभागी नहुनाले सहकारीका सदस्यहरु निष्क्रिय छन् जसले गर्दा सहकारीले सदस्यहरुलाई जतिपनि बुझाउनुर्ने कुरा बुझाउने बुझाउन नसक्दा र सदस्यहरुले पनि नबुझदा सहकारीप्रति जिम्मेवारी र स्वामित्वको भावना घट्दै गएको छ।
३. सदस्यहरूले सहकारीको नीति,कार्यविधि, विभिन्न निर्देशिका, ब्याजदर, ऋण व्यवस्थापन वा जोखिमका विषयमा राम्रो जानकारी पउन नसक्दा गलत अपेक्षा र भ्रम सिर्जना हुने समस्या भेरै नै देखिएको छ ।
४. अझै पनि अधिकांश स्थानको ग्रामीण क्षेत्रका सहकारीहरूमा इन्टरनेट, कम्प्युटर प्रणाली र डिजिटल सेवा उपयोग गर्न कठिनाइ भएको छ कतिपय ठाउँमा अझै पनि निरन्तर बत्तिको अभाव छ । ईन्टरनेटको अभाव छ । दक्ष जनशक्तिको अभावका कारण पनि प्रविधिमा अघि बढ्न नसकेको अबस्था छ ।
५. अझै पनि हामी सहकारीका समस्याहरुलाई दोसारोपण गर्दै अरुलाई नै देखाई रहेका छौ बास्तबमै हुनु पर्ने र भईरहको परिस्थिीति पहिचान गर्न दक्ष जनशक्ति अभावका कारण पनि समस्या भै रहेको छ ।
६. अझै धेरै सहकारीहरुमा प्रतिस्पर्धी ब्याजदर नभई अनावश्यक प्रतिस्पिर्धी हुदा सहकारीका सदस्यहरु पनि अन्योलमा छन । सदस्यहरुनै भ्रमित हुनेखालको सदस्य आकर्षित गर्न अस्वस्थ प्रतिस्पर्धाले संस्थाको स्थायित्वमा असर पारेको छ ।
७. सहकारी विभाग र प्राधिकरणका नयाँ नियमहरू अनुसार प्रतिवेदन, लेखापरीक्षण र प्रशासनिक कार्यमा एउटै प्रारम्भिक संस्थाबाट विभिन्न किसिमको फर्ममेटमा एउटै प्रतिवेदन पेश गरिरहनुपरेको अबस्था छ । त्यस्कारणले यो बढी समय र खर्चिलो भएको जस्तो लाग्छ ।
० अहिले जति धेरै नाफा कमायो त्यो सहकारी चाहीँ राम्रो भनेर बुझ्ने चलन छ नि ?
एकदम राम्रो प्रश्न गर्नुभयो सर बस्तावमा सहकारीको मूल मर्म बुझ्नका लागि यो प्रश्न महत्वपूर्ण पनि छ । सहकारीको मूल्यांकन नाफाको मात्रामा होइन, सदस्य हितका, सेवाको गुणस्तर र सदस्यहरूको जीवनस्तरमा आएको सुधारका आधारमा गर्नुपर्छ । यस कारण, जति धेरै नाफा कमायो त्यति राम्रो सहकारी भन्ने धारणा पूर्ण रूपमा ठिक होइन ।
० धेरै बर्ष भयो तपाईले सहकारीमा आवद्ध भएर काम गर्न थाल्नु भएको खासमा सहकारी भनेको चाहीँ के हो त ?
भयो सर लगभग १० पुरा भै सकेको छ यस्को परिभाषा धेरैले विभिन्न तरिकाले प्रष्टयाउछन् त्यस्कारण मेरो बिचारमा चै सहकारी संस्था सदस्यहरूद्वारा स्वेच्छाले स्थापित, सदस्य–केन्द्रित, लोकतान्त्रिक र आपसी सहयोगमा आधारित आर्थिक–सामाजिक संस्था हो। समान उद्देश्य र हित भएका व्यक्तिहरूले संयुक्त रूपमा स्रोत, साधन र पूँजीको परिचालन गरी आपसी प्रगति र सामूहिक समृद्धिको लक्ष्य राखेर सञ्चालन गर्ने संगठन नै सहकारी हो ।
सहकारीको मूल मर्म नै आपसी सहयोग, पारदर्शिता, समानता र साझा उत्तरदायित्वमा आधारित रहँदै सदस्यहरूको आर्थिक सशक्तीकरण र सामाजिक उन्नति सुनिश्चित गर्नु हो । यस संस्थाले नाफा मात्र होइन, सदस्यको जीवनस्तर सुधार र समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले कार्य गर्ने गर्दछ ।यसै भावना अनुरूप, हाम्रो सहकारी संस्थाले विगत वर्षभर सदस्यहरूको हितमा केन्द्रित रही वित्तीय तथा गैर–वित्तीय सेवा–सुविधा प्रदान गर्दै आएको छ ।
० सहकारीले सोझासिधा जनतालाई ऋण लगानीको बहानामा उठिबास लगाउछन भन्ने आरोप लाग्ने गर्छ । यसमा के भन्नुहुन्छ ?
हालका दिनमा केही सहकारीहरूमा देखिएका अनियमितता, पारदर्शिताको अभाव र गैर–सहकारी प्रवृत्तिका कारण सम्पूर्ण सहकारी क्षेत्रमाथि नकारात्मक धारणा सिर्जना हुने गरेको छ । कतिपय अवस्थामा सहकारीले सोझासिधा जनतालाई ऋण लगानीको बहानामा उठिबास लगाउँछ भन्ने भ्रम पनि फैलिएको छ । यस्ता आरोपहरूलाई चिर्नका लागि हाम्रो संस्थाले पारदर्शिता, उत्तरदायित्व र सदस्यहितमुखी व्यवहारलाई कार्यनीतिक प्राथमिकताका रूपमा अंगालेको छ । संस्थाले ऋण वितरणदेखि असुलीसम्मको सम्पूर्ण प्रक्रिया स्पष्ट नीति र मापदण्डअनुसार सञ्चालन गर्दै आएको छ। कुनै पनि सदस्यसँग व्यवहार गर्दा सहकार्य, सहानुभूति र परामर्शमुखी दृष्टिकोण अपनाइन्छ। साथै, सदस्यहरूलाई ऋण उपयोग, वित्तीय सचेतना र सहकारी मूल्यबारे नियमित शिक्षा कार्यक्रमहरू सञ्चालन गरिँदै आएको छ । सहकारीको वास्तविक उद्देश्य नाफा कमाउने होइन, सदस्यहरूको जीवनस्तरमा सुधार ल्याउने हो भन्ने सन्देश व्यवहारमै उतार्दै संस्थाले जनविश्वास सुदृढ पार्न निरन्तर प्रयास गरिरहेको छ। यसरी पारदर्शी व्यवस्थापन, नियमित सूचना प्रवाह र सामाजिक उत्तरदायित्वका कार्यमार्फत हाम्रो सहकारीले सदस्यहरू तथा समुदायबीच उच्च विश्वसनीयता कायम गर्न सफल भएको विश्वास गर्न सकिन्छ।
० सहकारी क्षेत्रमा गहिरो अध्ययन अनुसन्धानको कमी छ । यस क्षेत्रमा अनुसन्धानात्मक विकासका लागि के गर्नुपर्छ ? यहाँको अध्ययनको विषय के हो ?
सहकारी क्षेत्रको दीर्घकालीन सुदृढीकरणका लागि अध्ययन, अनुसन्धान र तथ्यपरक विश्लेषण अत्यावश्यक हुन्छ। तर हाल नेपालमा सहकारीसम्बन्धी गहिरो अनुसन्धानको अभाव देखिन्छ । सहकारीहरूमा संकलित तथ्यांक, अनुभव र सफलता–असफलताका अध्ययनहरू व्यवस्थित रूपमा अभिलेख र विश्लेषण गर्ने प्रवृत्ति अझ विकसित हुन सकेको छैन । यस अवस्थालाई सुधार गर्न हाम्रो संस्थाले भविष्यमा सहकारी अनुसन्धान र अध्ययनलाई प्राथमिकतामा राख्दै जाने योजना बनाएको छ। यसका लागि संस्थाले शैक्षिक निकायहरूसँग सहकार्य गर्ने, आन्तरिक अनुसन्धान कोष स्थापना गर्ने, सदस्य तथा कर्मचारीमा अनुसन्धानात्मक सोच विकास गर्ने र संस्थाको वार्षिक प्रतिवेदनलाई तथ्यपरक बनाउने दिशा अपनाउनेछ । सहकारी क्षेत्रको यथार्थ स्थिति र भविष्यको दिशानिर्देश बुझ्न अनुसन्धानलाई सशक्त आधार बनाउँदै जानु नै सहकारीको स्थायित्व र विश्वसनीयताको मूल कुञ्जी हो भन्ने हाम्रो बुझाइ रहेको छ।
० सहकारी ऐनमा राखिएको मुख्य कारोबारको विषयमा यहाँको के भनाई छ ? दोहोरो सदस्यता अन्त्यको विषयमा यहाँको राय के छ ?
नवीनतम सहकारी ऐनले सहकारीको प्रमुख कारोबारलाई सदस्यहितमा केन्द्रित राख्दै बचत संकलन, ऋण प्रवाह, सदस्य शिक्षा, लगानी र सामाजिक उत्तरदायित्वलाई मुख्य क्षेत्रका रूपमा परिभाषित गरेको छ । हाम्रो दृष्टिमा, यी विषयहरू सहकारीको मूल मर्म र व्यवहारिक आवश्यकतासँग पूर्णरूपमा मेल खान्छन् । सहकारीको वास्तविक उद्देश्य नाफा होइन, सदस्यहरूको जीवनस्तरमा सुधार ल्याउने भएकाले ऐनमा निर्दिष्ट मुख्य कारोबारका क्षेत्रहरू व्यवहारिक र सान्दर्भिक छन् । हाम्रो संस्थाले पनि ऐन र विनियमावलीमा उल्लेखित दिशानिर्देशहरूलाई आधार मानेर वित्तीय सेवाका साथै गैर–वित्तीय कार्यक्रम (सदस्य शिक्षा, सिप विकास, सामाजिक उत्तरदायित्व कार्यक्रम आदि) सञ्चालन गर्दै आएको छ । यसले सहकारीको उद्देश्यलाई अझ स्पष्ट र प्रभावकारी बनाएको अनुभव गरिका छौ ।
अर्कोे कुरा रहयो दोहोरो सदस्यता अन्त्यको विषयमा सहकारी सिद्धान्त अनुसार प्रत्येक सदस्यले आफ्नो विश्वास, आवश्यकता र उद्देश्यअनुसार एकै प्रकारको सहकारीमा एक मात्र सदस्यता लिनु उचित हुन्छ । दोहोरो सदस्यता रहँदा सदस्यको उत्तरदायित्व कमजोर बन्ने, पूँजी र सेवामा दोहोरो प्रयोग हुने, तथा संस्थाबीच प्रतिस्पर्धा र अविश्वास सिर्जना हुने जोखिम रहन्छ । त्यसैले दोहोरो सदस्यता अन्त्य गर्ने ऐनको व्यवस्था सदस्य उत्तरदायित्व र सहकारी अनुशासन सुदृढ गर्ने दृष्टिले आवश्यक र सकारात्मक मानिन्छ । तर व्यवहारमा यो नीति सफल बनाउन सदस्यहरूलाई पर्याप्त सूचना, सचेतना र विकल्पको अवसर प्रदान गरिनु जरुरी छ। जब सदस्यहरूले हरेक सहकारीको उद्देश्य बुझ्छन् र सचेत निर्णय गर्छन्, तब मात्र दोहोरो सदस्यता अन्त्यको नीति प्रभावकारी रूपमा लागू हुन्छ।
० सहकारीहरुले बचतकर्ताहरुको पैसा कुम्ल्याएर भागिरहेका छन् नि ? के यसमा सहकारीकर्मीहरुको कुनै दायित्व हुँदैन ?
हालका केही सहकारीहरूमा देखा परेको घटनाले यो देखाउँछ कि केही असल नियमन र निगरानीबिना रहँदा, बचतकर्ताको पैसा दुरुपयोग हुने, कुम्ल्याइने वा संस्थाबाट भाग्ने जोखिम रहन्छ। यस्ता घटनाले सम्पूर्ण सहकारी क्षेत्रको विश्वासमा ठूलो धक्का पु¥याएको छ । यसमा सहकारीकर्मीहरुको नैतिक र कानूनी दायित्व अत्यन्त महत्वपूर्ण हुन्छ। संस्थाले पारदर्शी वित्तीय प्रणाली, नियमित लेखापरीक्षण र सदस्य शिक्षा सुनिश्चित गर्दा मात्र यस्तो जोखिम न्यून गर्न सकिन्छ। कर्मचारी, व्यवस्थापक र सञ्चालक सबैले आफ्नो दायित्व पालन गरी सदस्यको बचत सुरक्षित राख्नुपर्ने हुन्छ ।
० अहिले सदस्यहरुले यस सहकारी संस्थाबाट के कस्तो फाईदा लिन सकेका छन् ?
लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. स्थापनाकालदेखि नै सदस्यहरूको आर्थिक सशक्तीकरण र सामाजिक उन्नतिमा समर्पित रहँदै आएको छ। हालका वर्षहरूमा सदस्यहरूले यस संस्थाबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा उल्लेखनीय फाइदा लिन सफल भएका छन् ।
वित्तीय पक्षमा, सदस्यहरूले नियमित रूपमा सुरक्षित बचत, सुलभ ब्याजदरमा ऋण सुविधा, आपत्कालीन ऋण, व्यवसायिक लगानी ऋण र आवासीय ऋण प्राप्त गर्दै आएका छन् । यसले धेरै सदस्यहरूको आर्थिक आत्मनिर्भरता र उद्यमशीलता विकासमा ठोस योगदान पु¥याएको छ ।
गैर–वित्तीय सेवातर्फ, संस्थाले सञ्चालन गर्दै आएको सदस्य शिक्षा, सिप विकास तालिम, स्वास्थ्य शिविर, महिला सशक्तीकरण कार्यक्रम र सामाजिक उत्तरदायित्वका गतिविधिहरू मार्फत सदस्यहरूमा सचेतना र आत्मविश्वास वृद्धि भएको छ। साथै, नियमित तालिम, शिक्षा र आपसी सहयोगका कार्यक्रमहरूबाट सदस्यहरू थप लाभान्वित भएका छन् । संस्थाले आफ्ना सेवा–सुविधा विस्तार गर्दै सदस्यहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यमा उल्लेखनीय प्रगति हासिल गरेको छ भन्ने कुरामा हामी गर्व अनुभव गर्दछौं ।
० सहकारीमा युवा पुस्ताको रुचि कसरी बढाउन सकिन्छ होला ?
हालको प्रविधिमुखी र प्रतिस्पर्धात्मक समयमा सहकारीमा युवा पुस्ताको आकर्षण घट्दो क्रममा देखिँदैछ। सहकारीलाई आधुनिक र व्यावसायिक दृष्टिले सुदृढ बनाउनका लागि युवा पुस्ताको सक्रिय सहभागिता अपरिहार्य छ । यस उद्देश्यका लागि सहकारीहरूले युवालाई लक्षित विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिन्छ ।
युवा पुस्तालाई सहकारीमा आकर्षित गर्नका लागि संस्थाले प्रविधिमैत्री सेवा प्रणाली (जस्तैः मोबाइल बैंकिङ, अनलाइन कारोबार, डिजिटल सदस्यता), सिप र उद्यमशीलता विकास तालिम, स्टार्टअप र नव–उद्यम सहयोग कार्यक्रम, र युवा–मैत्री बचत तथा ऋण योजना लागू गर्नुपर्ने आवश्यकता छ। यसले युवाहरूलाई सहकारीलाई आधुनिक वित्तीय प्लेटफर्मको रूपमा हेर्न प्रेरित गर्नेछ ।
त्यस्तै, युवाहरूलाई सहकारीको निर्णय–प्रक्रियामा सहभागी गराउने, सहकारी नेतृत्वमा स्थान दिने, र विद्यालय तथा क्याम्पस स्तरमा सहकारी शिक्षा र सचेतना कार्यक्रम संञ्चालन गरियो भने अवस्य पनि युवा पुस्तालई जोडन सकिन्छ ।
० वचत तथा ऋण सहकारी संस्था र साना किसान कृषि सहकारी संस्थामा कुन चाहीँ बढि प्रभावकारी देखिन्छ ?
सहकारी क्षेत्र विभिन्न उद्देश्य र सेवाका आधारमा विभाजित छ । वचत तथा ऋण सहकारी संस्थाको मुख्य उद्देश्य सदस्यको आर्थिक सशक्तीकरण, बचत संकलन, ऋण प्रवाह र वित्तीय सुरक्षा उपलब्ध गराउनु हो। यस प्रकारका सहकारीले सदस्यलाई तत्काल ऋण सुविधा, व्यवसायिक लगानी सहयोग र आपत्कालीन आवश्यकतामा छिटो सहायता प्रदान गरेर व्यक्तिगत आर्थिक लाभ सुनिश्चित गर्ने गर्छ। यसको सरल र छिटो सञ्चालन हुने प्रणालीका कारण सिधा सदस्य लाभ र वित्तीय पहुँचको हिसाबले यस प्रकारका सहकारी प्रभावकारी देखिन्छन् ।
त्यस्तै, साना किसान कृषि सहकारी संस्थाले साना किसानहरूको कृषि उत्पादन वृद्धि, सामूहिक बजार पहुँच, सहकारी खेती प्रवद्र्धन र दिगो कृषक सशक्तीकरणमा केन्द्रित सेवाहरू प्रदान गर्छ। यदि राम्रो व्यवस्थापन र प्राविधिक सहयोग उपलब्ध छ भने, यी सहकारीहरूले समुदाय स्तरमा दीर्घकालीन आर्थिक सुधार र उत्पादन वृद्धि गर्न सक्षम हुन्छन्। यद्यपि, भौगोलिक दूरी, मौसम र प्राविधिक ज्ञानको कमी जस्ता चुनौतीका कारण सञ्चालन केही जटिल हुने हुँदा सदस्यलाई तत्काल व्यक्तिगत लाभ कम महसुस हुन सक्छ ।
त्यस्कारण यस्लाई छोटो रुपमा भन्नुपर्दा, सिधा सदस्य लाभ र वित्तीय पहुँचको हिसाबले वचत तथा ऋण सहकारी संस्थाले बढी प्रभावकारी भूमिका खेल्दछन् भने समुदाय स्तरमा दीर्घकालीन विकास र कृषक सशक्तीकरणमा साना किसान कृषि सहकारी संस्थाले बढी प्रभाव पार्दछन् ।
० भावी योजनाहरु के छन् ?
लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि.ले आगामी ४ वर्षको लागि रणनीतिक योजना तयार परि आगामी दिनहरूमा आफ्ना सदस्यहरूको आर्थिक, सामाजिक र सांस्कृतिक सशक्तीकरणका लागि विभिन्न वृद्धि–विकास कार्यक्रम सञ्चालन गर्ने योजनामा ध्यान केन्द्रित गरेको छ । वित्तीय क्षेत्रमा, संस्थाले सदस्यको बचत संकलन र ऋण सुविधा विस्तार, नयाँ बचत योजना र लक्षित ऋण कार्यक्रमहरू, र प्रविधिमुखी बैंकिङ सेवा (मोबाइल तथा अनलाइन प्लेटफर्म) सञ्चालन गर्ने उद्देश्य राखेको छ ।
साथै, गैर–वित्तीय क्षेत्रमा, सदस्य शिक्षा, सिप विकास तालिम, महिला सशक्तीकरण कार्यक्रम, र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई अझ व्यापक बनाउने योजना बनाइएको छ । युवा सदस्यता वृद्धि गर्न युवा–मैत्री योजना, स्टार्टअप सहयोग, प्रविधिमुखी बचत–ऋण सेवा र विभिन्न विद्यालय, क्याम्पस–स्तरीय सहकारी शिक्षा कार्यक्रमहरू सञ्चालन गरिनेछ । संस्थाले आन्तरिक संरचना, मानव संशाधन क्षमता, आन्तरिक नियन्त्रण र पारदर्शिता प्रणालीलाई मजबुत बनाउँदै सदस्य विश्वास र संस्थाको दीर्घकालीन स्थायित्व सुनिश्चित गर्ने नीति अगाडि राखेको छ । यसरी, लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले भविष्यमा सदस्य केन्द्रित, पारदर्शी र दिगो विकासमुखी सहकारीको रूपमा आफ्नो पहिचान अझ सुदृढ बनाउने लक्ष्य राखेको छ ।
अन्त्यमा, सहकारी संस्थासँग सम्बन्धित मेरा व्यक्तिगत धारणा प्रस्तुत गर्दा, कसैले पनि त्यसलाई नकारात्मक रूपमा नलिदिनुहुन हार्दिक अनुरोध गर्दछु । साथै, मलाई मेरो व्यक्तिगत र संस्थागत दृष्टिकोण व्यक्त गर्न अवसर प्रदान गर्नुभएकोमा तपाई प्रति म गहिरो कृतज्ञता व्यक्त गर्दछु। र यो अवसरका लागि धन्यवाद ज्ञापन गर्दछु ।



