
विराटनगर । मोरङको लेटाङ–२, फडानीकी १३ वर्षीया अंशु गौतमको हत्या प्रकरणमा प्रहरीले उनका छिमेकीलाई पक्राउ गरेको छ । दुई महिनायता भइरहेको अनुसन्धानपछि प्रहरीले करिब ५९ वर्षका एक पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको हो । तर, औपचारिक रूपमा पक्राउबारे प्रहरीले कुनै जानकारी सार्वजनिक गरेको छैन ।

अंशु गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको शव अत्यन्तै क्षतविक्षत अवस्थामा भेटिएको थियो ।




मोरङ प्रहरी प्रमुख कवित कटुवालका अनुसार अनुसन्धान अन्तिम चरणमा पुगेको छ । उनले अझै केही विवरण खुल्न बाँकी रहेको बताउँदै पक्राउ परेका व्यक्तिले अंशुको हत्या गरेको स्वीकार गरिसकेको जानकारी दिए । तर हत्याको कारण सार्वजनिक गरिएको छैन । प्रारम्भिक रूपमा पारिवारिक रिसिइबी मुख्य कारण भएको अनुमान प्रहरीले गरेको छ ।
यस घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय मोरङ, प्रदेश प्रहरी कार्यालय विराटनगर र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सम्मिलित टोलीले संयुक्त रूपमा गरेको बताइएको छ।


