




काभ्रे । धुलिखेलमा आगामी कात्तिक २० देखि मंसिर ३ गतेसम्म धुलिखेल महोत्सव हुने भएको छ । लामो समयपछि धुलिखेलमा हुन लागेको महोत्सवको मुख्य उदेश्य परम्परा, कला सँँस्कृति, जातजाती, भेषभुषा र भौगोलिक परिचय र पर्यटनको निम्ती रहेको आयोजकले उल्लेख गरेको छ ।

महोत्सवमा दैनिक रुपमा आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, अटोमोबाईल, जुत्ताहरु, कृषि उपज, हस्तकलाको सामाग्री, कृषि औजारलाई विशेष छुटमा उपलब्ध गराईनेछ । महोत्सवमा बाल उद्यान, रोटे पिङ, ड्राईगन नाउ, मिनी बञ्जी जम्प, बाटर बल्व, मिकी माउस, टेम्पोलिङ, स्करपियोको सुविधा दिईनेछ ।
१३ दिनमा ७० हजारले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा एक करोडको कारोबार हुने अपेक्षा गरिएको छ । आकाश भैरव क्लब धुलिखेलको आयोजनामा र धुलिखेल नगरपालिकाको संरक्षकत्वमा ‘धुलिखेल महोत्सव कृषि, सांस्कृतिक, पर्यटन तथा व्यापार प्रवद्र्धन–२०८२’ यही कात्तिक २० गतेदेखि मंसिर २ गतेसम्म धुलिखेल रंगशालामा हुने सोमबार पत्रकार सम्मेलनमा जानकारी दिए ।
महोत्सवमा कृषि, पर्यटन, संस्कृति र व्यापार प्रवद्र्धनका विभिन्न स्टलहरू राखिने छन् । करिब १०० वटा स्टलहरूमा स्थानीय उत्पादन, हस्तकला, कृषि उपज, घरेलु प्रविधि, पर्यटन र संस्कृतिसम्बन्धी सामग्रीहरू प्रदर्शन गरिनेछन् । त्यसमा एक वडा एक उत्पादनको स्टलपनि रहने विश्वास आयोजकले लिएको छ ।
मेला अवधिभर धुलिखेलका जात्राका रथ, ऐतिहासिक फोटो प्रदर्शनी तथा धुलिखेलको ऐतिहासिक जात्रा र परम्परा झल्काउने विशेष स्टलहरू पनि रहनेछन् । पुरानो बजारलाई गेट मार्फत स्वागत गरेर त्यहाँ मूल्यवान सामाग्रीको प्रर्दशनी समेत गरिनेछ । आयोजकका अनुसार, शुक्रबार र शनिबार विद्यार्थीका लागि ५० रूपैयाँ प्रवेश शुल्क रहनेछ भने सर्वसाधारणका एक सय रुपियाँको टिकट निर्धारण गरिएको छ । बाँकी दिनमा प्रवेश शुल्क निशुल्क नै हुनेछ ।
महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम, बाल–बालिका र परिवारमैत्री गतिविधिहरू समेत हुनेछन् । धुलिखेललाई सांस्कृतिक, पर्यटकीय र व्यापारिक गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको यो महोत्सवले नगरको आर्थिक तथा सामाजिक विकासमा नयाँ ऊर्जा दिने आयोजक क्लबले विश्वास लिएको छ ।


