


काठमाडौं — बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) को आयोजनामा “योग्य तथा उपयुक्त व्यक्ति परीक्षण” (Fit and Proper Person Test) सम्बन्धी अभिमुखिकरण कार्यक्रम २०८२ असोज २९ गते बुधबार बागमती प्रोस्कूनको सेवा कार्यालय, नयाँ बानेश्वरस्थित सभाहलमा सम्पन्न भएको छ।


कार्यक्रम बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृतले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन कार्यक्रम अधिकृत विमला पुडासैनीले गर्नुभएको थियो।

अभिमुखिकरण सत्रमा प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले “योग्य तथा उपयुक्त व्यक्ति परीक्षण” को उद्देश्य, परीक्षणका क्षेत्रहरू, मूल्यांकनका विधि र व्यक्ति परीक्षणका आठ वटा मुख्य मापन सूचकहरूबारे विस्तृत प्रस्तुती दिनुभएको थियो। साथै, उहाँले सहकारी सञ्चालक र सुपरिवेक्षण समितिमा निर्वाचित व्यक्तिहरूको योग्यता निर्धारणका लागि प्रयोगात्मक अभ्याससमेत गराउनुभएको थियो।
त्यसैगरी, कार्यक्रम अधिकृत बिमला पुडासैनीले हालका कानुन र नियामक निकायले तोकेको मापदण्ड अनुसार सहकारी संस्थाको सञ्चालक समितिमा निर्वाचित हुनका लागि आवश्यक न्यूनतम योग्यता र पात्रता सम्बन्धी कानुनी प्रावधानबारे जानकारी दिनुभएको थियो।
कार्यक्रममा विभिन्न सहकारी संघ–संस्थाका २१ जना प्रतिनिधिहरू सहभागी रहेका थिए।
सहकारी संस्था रुपियाँ–पैसाको कारोबारसँग प्रत्यक्ष सम्बन्धित भएकाले यस क्षेत्र जोखिमयुक्त व्यवसायको रूपमा रहेको उल्लेख गर्दै वक्ताहरूले जोखिम व्यवस्थापन र सुशासनका लागि दक्ष, जिम्मेवार र मापदण्ड पूरा गर्ने नेतृत्वको आवश्यकता रहेकोमा जोड दिएका थिए।
अध्यक्ष उद्धव सापकोटाले संघ/संस्थामा सुशासन प्रवर्द्धन गर्ने, आर्थिक, सामाजिक र प्राविधिक रूपमा सक्षम व्यक्तिलाई नेतृत्वमा स्थापित गर्ने, सदस्यहरूको विश्वास कायम राख्ने र नियामक निकायको मापदण्ड अनुसार सहकारी ऐन–नियमावलीको पूर्ण कार्यान्वयनमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम सहकारी क्षेत्रमा सुशासन प्रवर्द्धन गर्न महत्वपूर्ण साबित हुने बताउनुभयो।
कार्यक्रम अध्यक्ष सापकोटाको समापन मन्तव्यसँगै सम्पन्न भएको थियो।



