वडादशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै काभ्रेपलाञ्चोकमा यात्रु सहायता कक्ष स्थापना

 

बनेपा । वडादशैं, तिहार तथा छठ पर्व नजिकिँदै गर्दा यात्रुहरुलाई सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न काभ्रेपलाञ्चोकमा नागरिक/यात्रु सहायता कक्ष (Help Desk) स्थापना गरिएको छ ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाको संयुक्त आयोजनामा २०८२ असोज ४ गतेदेखि बनेपा नगरपालिका–७ चारदोबाटो, धुलिखेल नगरपालिका–४ धुलिखेल, नमोबुद्ध नगरपालिका–२ भकुण्डेवेशी चोक र भकुण्डेचोकमा सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

सार्वजनिक यातायातमा यात्रु ठगी, बढी भाडा असुल्ने, सिट क्षमताभन्दा बढी यात्रु चढाउने, यात्रुको सामान हराउने वा छुट्ने, यात्रुवाहक सवारी साधनमा व्यावसायिक सामान बोक्ने जस्ता गतिविधिलाई निरुत्साहित गर्न र तत्काल कारबाही गर्नका लागि सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले जानकारी दिए ।

उनका अनुसार दशैं, तिहार र छठका समयमा यात्रु संख्यामा अत्यधिक वृद्धि हुने भएकाले यातायात व्यवस्थापनमा देखिन सक्ने अव्यवस्था रोक्न प्रहरी सशक्त रूपमा खटिनेछ ।