बनेपा ब्वाइज क्लबद्वारा जिल्ला ट्राफिक प्रहरीलाई सहयोग

 

काभ्रेपलाञ्चोक । बनेपा ब्वाइज क्लब (बीबीसी क्लब) बनेपाले सामाजिक उत्तरदायित्वअन्तर्गत बनेपास्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ।

बिज्ञापन

गत भदौ २४ गतेको जेन जि आन्दोलनका क्रममा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएपछि दैनिक सेवाप्रवाहमा समस्या आइरहेका बेला क्लबले सहयोग स्वरूप १८० लिटर क्षमताको ओलिभ फ्रिज, डीएचआई वाटर डिस्पेन्सर, बाल्ट्रा ग्यास चुल्हो, साङ्गो स्ट्यान्ड फ्यान र इलेक्ट्रिक केतली प्रदान गरेको हो।

सामग्री हस्तान्तरण गर्दै क्लबका अध्यक्ष महेश कुमार कर्माचार्यले आन्दोलनपछि पनि मनोबल उच्च राख्दै सेवामा फर्किएको ट्राफिक कार्यालयलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे। सामग्री ग्रहण गर्दै जिल्ला ट्राफिक प्रहरी प्रमुख सुनिल धाँजुले प्रहरी समाजको अविभाज्य हिस्सा भएको उल्लेख गर्दै बीबीसी क्लबको सहयोगले प्रहरी–नागरिक सम्बन्ध अझ मजबुत हुने बताए।

यसअघि पनि बीबीसी क्लबले भूकम्प, कोरोना महामारीलगायतका विपद्‌मा सहयोग गर्दै आएको छ। संकटका बेला नागरिकलाई राहत वितरणदेखि खेलकुद क्षेत्रमा समेत उल्लेख्य योगदान पुर्‍याउँदै आएको क्लबले जनाएको छ।