काभ्रेमामा अवैध कन्सल्टेन्सीको बढ्दो जालो, विद्यार्थीलाई सचेत रहन आग्रह

 

काभ्रे – जिल्लामा सञ्चालनमा रहेका धेरै शैक्षिक कन्सल्टेन्सीहरूले कानुनी प्रक्रिया पूरा नगरी विद्यार्थीलाई विदेश पठाउँदै आएका छन्। कम्पनी रजिष्ट्रार वा आन्तरिक राजस्व कार्यालयमा मात्रै दर्ता गरेर कन्सल्टेन्सी खोल्ने प्रवृत्ति बढ्दै गएको हो।

बिज्ञापन

प्रचलित व्यवस्था अनुसार शैक्षिक परामर्श दातृ संस्था सञ्चालन गर्न विगतमा शिक्षा मन्त्रालयमा दर्ता गर्नुपर्ने भए पनि हाल प्रदेशको सामाजिक विकास मन्त्रालयमा दर्ता अनिवार्य छ। दर्तासँगै अध्यापन गर्ने शिक्षक तथा परामर्श दिने व्यक्तिहरूको न्यूनतम योग्यता तोकिएको भए पनि धेरै कन्सल्टेन्सीले यो मापदण्ड पूरा नगरेको पाइन्छ।

हालसम्म काभ्रेपलाञ्चोकमा ४ वटा मात्र शिक्षा मन्त्रालयमा दर्ता भई सञ्चालनमा छन् भने ८ वटा सामाजिक विकास मन्त्रालयमा दर्ता भएका छन्। यी बाहेकका सबै कन्सल्टेन्सी अवैध मानिन्छन्।

विशेषज्ञहरूको भनाइमा दर्ता तथा अनुमति बिना सञ्चालन हुने कन्सल्टेन्सीमार्फत विदेश जाने विद्यार्थीलाई भविष्यमा ठूलो समस्या निम्तिन सक्छ। हाल सहकारी संस्थामार्फत ठगिँदै आएका सर्वसाधारणजस्तै, कन्सल्टेन्सी भागे विद्यार्थी अलपत्र पर्न सक्ने खतरा रहेको चेतावनी दिइएको छ।

यसै कारण विद्यार्थी र अभिभावकलाई अनिवार्य रूपमा दर्ता र अनुमति प्राप्त कन्सल्टेन्सीमै सम्पर्क गर्न सम्बन्धित निकायले आग्रह गरेको छ।