



बनेपा । काभ्रे जिल्लामा शैक्षिक गुणस्तर र नवीनताका कारण चर्चामा रहँदै आएको काभ्रे माध्यमिक विद्यालय, बनेपा–बुडोल पछिल्ला वर्षहरूमा जिल्लाको उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ।

विद्यालयले कक्षा–कक्षामा स्मार्ट बोर्डमार्फत पठन–पाठन सञ्चालन गरिरहेको छ । यस प्रविधिले विद्यार्थीहरूको सिकाइलाई अझ रोचक, सहज र प्रभावकारी बनाएको छ। विगतमा पनि जिल्लाभर उत्कृष्ट नतिजा ल्याउँदै पटक–पटक जिल्ला प्रथम बन्न सफल यस विद्यालयमा अनुभवी र दक्ष शिक्षकहरूले आधुनिक पद्धतिबाट शिक्षण गर्दै आएका छन्।

नवीनतम प्रविधि र शैक्षिक सुधारलाई निरन्तर अंगीकार गर्दै आएको यस विद्यालय अहिले विद्यार्थी तथा अभिभावकहरूको पहिलो रोजाइ बनेको छ।
प्रधानाध्यापक कुमार मानन्धरका अनुसार, “हामीले नयाँ प्रविधिको भरपुर उपयोग गर्दै अध्ययन–अध्यापनलाई अझ सशक्त र प्रभावकारी बनाउन निरन्तर प्रयास गरिरहेका छौँ। स्मार्ट बोर्डको प्रयोगपछि विद्यार्थीहरूको सिकाइ उत्साहजनक बनेको छ, जसले विद्यालयको शैक्षिक गुणस्तरलाई अझ उचाइमा पुर्याएको छ।”