

बनेपा, साउन ३० – बनेपा नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रममार्फत दिइँदै आएको निःशुल्क उपचार सेवा अवरुद्ध भएकोप्रति नेकपा (एमाले) बनेपा नगर कमिटीले गम्भीर ध्यानाकर्षण गराएको छ।


नगर कमिटी अध्यक्ष नवराज मानन्धरले बुधबार नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै बनेपा नगरपालिका भित्रका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य बीमाको सेवा पुनः सञ्चालन गर्न माग गरेका छन्।



ज्ञापनपत्रमा भनिएको छ, “स्वास्थ्य बीमा सेवा बन्द हुँदा सर्वसाधारण उपचारबाट वञ्चित भएका छन्, जुन अत्यन्तै दुःखद छ।” बीमा कार्यक्रम अन्तर्गतको सेवा नपाउँदा हजारौं नागरिक प्रभावित भएका छन्।

एमालेले नागरिकलाई गुणस्तरीय र सहज उपचार सेवा दिन स्वास्थ्य बीमा बोर्डसँग समन्वय गरी सेवा तत्काल पुनः सञ्चालन गर्न र आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन आवश्यक व्यवस्था मिलाउन माग गरेको छ। कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य, नगर कमिटीका पदाधिकारी, राष्ट्रिय युवा संघका पदाधिकारीहरुको उपस्थितिमा ज्ञापनपत्र बुझाएको छ।