

बैठकको अध्यक्षता गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विधान निर्माण गर्ने काममा पार्टीका सबै नेताहरूलाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिनुभएको छ ।
विकसित राजनीतिक घटनाक्रम, सरकार र विधानका बारेमा बोल्नुहुँदै अध्यक्ष ओलीले अहिले पार्टीको मुख्य काम विधान महाधिवेशन र विधि निर्माण भएको बताउनुभयो । उहाँले त्यस काममा रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिनु भएको छ ।
बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
महासचिव पोखरेलले पार्टीका संगठित सदस्य १५ प्रतिशतले बढेको र सङ्गठनात्मक क्षेत्र बलियो बन्दै गइरहेको बताउनुभएको छ ।
बैठकमा विधान संशोधनसम्बन्धी प्रस्तावमाथि आज सात जनाले आ–आफ्नो धारणा राख्नु भएको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । धारणा राख्ने नेताहरूमा स्थायी कमिटी सदस्यहरू लालबाबु पण्डित, डा. राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरुङ, शेरधन राई, खगराज अधिकारी र कर्णबहादुर थापा हुनुहुन्छ ।





