काठमाडौ राजन थापा कागेश्वरी मनोहरा–६, मुलपानीस्थित बिद्या अर्जन अंग्रेजी माध्यमिक विद्यालयमा ॐ समाज डेन्टल अस्पताल, बन्सथली शाखाको प्राविधिक सहयोगमा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। विद्यालयको आयोजनामा र तारकेश्वर क्लब–६० को सह–आयोजनामा आयोजित शिविरमा विद्यार्थी, शिक्षक र अभिभावक गरी ४ वर्षदेखि ६५ वर्ष उमेर समूहका व्यक्तिहरूले सेवा प्राप्त गरे।
शिविरमा सहभागीमध्ये ८७ प्रतिशत विद्यार्थीका दाँत कीराले खाएको पाइएको ॐ समाज डेन्टल बन्सथली शाखाकी प्रमुख सबिना पापन गुरुङले जानकारी दिइन्।
दन्त परीक्षण तथा उपचार सेवामा डा. आशिका न्यौपाने, डा. सुदेसा, हाईजेनिष्ट रश्मि ढकाल, दन्त सहायक जुनु पण्डित र दुर्गा न्यौपाने सहितको विशेषज्ञ टोली संलग्न थियो।
विद्यालयका प्रधानाध्यापक घनेन्द्र भट्टराईले सफल शिविरप्रति प्रसन्नता व्यक्त गर्दै भने, “हामीले ॐ समाज डेन्टल अस्पताल रोज्नुको कारण उनीहरूको अनुभवी चिकित्सक टोली, सफल उपचार सेवा र समुदायप्रतिको समर्पित भावनाका लागि हो।”
स्वयंसेवक विद्यार्थीको सक्रिय भूमिका रहेको थियोे उक्त
शिविर व्यवस्थापनमा कक्षा ९ र १० का विद्यार्थीहरू सुश्रिया कार्की, आदित्य रानामगर, किस्न लामा, वर्षा श्रेष्ठ, मन्दुन राय र स्वेच्छा आचार्यले स्वयंसेवकको रूपमा उल्लेखनीय भूमिका खेले। उनीहरूले दर्ता, अनुशासन, सूचना प्रवाह र व्यवस्थापनमा सहयोग पुर्याएका थिए। विद्यालयले उनीहरूको योगदानप्रति विशेष प्रशंसा व्यक्त गरेको छ।
समाजसेवी र पत्रकारलाई सम्मान
शिविर सफल बनाउन विशेष भूमिका निर्वाह गर्ने तारकेश्वर क्लब–६० का अध्यक्ष तथा पत्रकार/सामाजिक अभियन्ता राजन थापा, शाखा प्रमुख सबिना पापन गुरुङ र चिकित्सक टोलीलाई विद्यालयको तर्फबाट प्रशंसापत्र प्रदान गरिएको थियो। साथै, शिविरसम्बन्धी सूचनाको प्रवाहमा सक्रिय पत्रकार सन्तोष तिवारीलाई विशेष सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको विद्यालय प्रशासनले जनाएको छ।
स्वास्थ्य र शिक्षाको सशक्त समन्वय
८२७ भन्दा बढी विद्यार्थी अध्ययनरत र ६० जना शिक्षक कार्यरत बिद्या अर्जन अंग्रेजी माध्यमिक विद्यालयले हरेक वर्ष १०० प्रतिशत एसईई उत्तीर्ण दर कायम राख्दै आएको छ। विद्यालयले स्वास्थ्य र शिक्षाबीचको समन्वयलाई उच्च प्राथमिकता दिँदै यस्ता सामाजिक उत्तरदायित्वपूर्ण कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
हालै विद्यालय र ॐ समाज डेन्टल अस्पतालबीच आपसी समझदारी (MOU) समेत सम्पन्न भएको छ, जसअन्तर्गत नियमित स्वास्थ्य क्याम्प तथा सचेतनामूलक गतिविधिहरू सञ्चालन गरिनेछ।