– राजन थापा
असार २, काठमाडौं
“अध्ययन-अध्यापन केवल किताबी ज्ञानमा सीमित हुनु हुँदैन, विद्यार्थीको समग्र विकासमा विद्यालयको भूमिकाले महत्त्व राख्छ,” भन्ने सोचसाथ तारकेश्वर नगरपालिकास्थित संस्कृति शिक्षा सदनले आफ्ना विद्यार्थीहरूका लागि निःशुल्क स्वास्थ्य तथा दन्त परीक्षण शिविरको आयोजना गरेको छ।
विद्यालयका प्रधानाध्यापक रबि केसीका अनुसार, “शारीरिक स्वास्थ्यमा सुधार ल्याउन दन्त स्वास्थ्य अत्यन्तै आवश्यक छ। मुख सफा नहुँदा शरीरमा विभिन्न समस्या आउन सक्छन् भन्ने उद्देश्यका साथ विद्यालयले ॐ समाज डेन्टल अस्पतालसँगको सहकार्यमा उक्त शिविर आयोजना गरेको हो।”
शिविरमा ६ सयभन्दा बढी विद्यार्थीहरूको निःशुल्क परीक्षण गरिएको विद्यालयका सह-प्रधानाध्यापक प्रकाश न्यौपानेले जानकारी दिनुभयो।
कार्यक्रममा ॐ समाज डेन्टल अस्पताल, वनस्थली शाखाकी प्रमुख सबिना पपनको नेतृत्वमा आएको टोलीमा दन्त विशेषज्ञ डा. रितिका श्रेष्ठ, डा. वर्षा कार्की, तथा दन्त सहायक जुनु पण्डितले परीक्षण कार्य सञ्चालन गरेका थिए। परीक्षणका क्रममा धेरै विद्यार्थीहरूमा दन्तसम्बन्धी समस्या देखिएपछि विद्यालय र अस्पतालबीच औपचारिक समझदारी पत्र (MoU) समेत हस्ताक्षर गरिएको हो।
उक्त MoU अनुसार विद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा तिनका परिवारका सदस्यहरूलाई दन्त उपचार सेवामा २०% छुट र दन्त मुकुट निर्माण सेवामा १५% छुट उपलब्ध गराइनेछ।
समझदारीपत्रमा विद्यालयका तर्फबाट प्रधानाध्यापक रबि केसी र अस्पतालका तर्फबाट शाखा प्रमुख सबिना पपनले हस्ताक्षर गरेका थिए। उक्त सम्झौतामा पत्रकार तथा सामाजिक अभियन्ता राजन थापा साक्षीको रूपमा सहभागी हुनुहुन्थ्यो।
शिविर सञ्चालनका क्रममा सबिना पपनले दन्त सुरक्षा तथा हेरचाहबारे विद्यार्थीहरूलाई विशेष प्रशिक्षण समेत दिएकी थिइन्।
स्वास्थ्य शिविरको व्यवस्थापन तारकेश्वर क्लब ६० का अध्यक्ष राजन थापाले गर्नुभएको थियो। उहाँले कार्यक्रममा बोल्दै सम्झौताबाट विद्यार्थी, अभिभावक र विद्यालय परिवार लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो।
विद्यालयले २०६० सालदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। अनुभवी शिक्षक, आधुनिक पठनपाठन, अनुशासित वातावरण र समग्र विकासमुखी दृष्टिकोणका कारण आज यो विद्यालय धेरै अभिभावकहरूको पहिलो रोजाइ बन्न सफल भएको छ।
विद्यालयले शिक्षा मात्र होइन, स्वास्थ्य, अनुशासन र संस्कारमा समेत उत्तिकै ध्यान दिँदै आएको छ। यही सोच अनुसार समय–समयमा यस्ता सामाजिक र स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू आयोजना गर्दै आइरहेको विद्यालयले आगामी दिनमा अझ धेरै सहयोगात्मक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।