राजन थापा / काठमाडौं  फाल्गुन १० गते शनिबार तदानुसार फेब्रुअरी २२, २०२५ का दिन ललितपुर मानभवन स्थिति एक समारोहबीच श्रीमती मोती शोभा श्रेष्ठद्‌वारा लिखित ४ वटा कृतिहरू एकैसाथ सार्वजनिक भएका छन् ।

पूर्व अर्थमन्त्री तथा बरिष्ठ साहित्यकार श्री शंकर प्रसाद कोइराला प्रमुख अतिथि रहेका कृति सार्वजनिकरण कार्यक्रममा बरिष्ठ साहित्यकारहरूको बाग्लो उपस्थिति रहेको थियो । साहित्यकार मोती शोभा श्रेष्ठको क्रमसः नेपाली भाषामा ‘अल्झिएका धागाहरू’ शीर्षक कथा संग्रह र ‘रंगीचंगी फूलहरूले सजिएको फूलबारी’ शीर्षकको लघुउपन्यास, नेपाल भाषामा ‘घुटु चियाया’ शीर्षकको कथा संग्रह तथा अंग्रेजी भाषामा ‘नेचर’ शीर्षकको लघुउपन्यास लोकार्पण गरिएको हो।

कार्यक्रममा पूर्वमन्त्री तथा साहित्यकार शंकर प्रसाद कोइराला, बरिष्ठ साहित्यकार तथा जनमत प्रकाशनका अध्यक्ष श्री मोहन दुवाल, कथाकार भागीरथी श्रेष्ठ, लोचन तारा तुलाधर, साहित्यकारहरू शैलेन्द्र साकार, लक्ष्मी माली, जलेश्वरी श्रेष्ठ, शाक्य सुरेन, रमेश तुफान, ज्ञानेन्द्र विवश लगायत अन्य साहित्यकारहरूले लोकार्पण गरिएका पुस्तकहरूकाबारे आ-आफ्नो मन्तब्य राख्नुभएको थियो भने अन्य साहित्यकार तथा कविहरूबाट मन्तब्य एवम् कविता वाचन समेत गरिएको थियो।

लेखिका मोती शोभा श्रेष्ठको कृति अल्झिएका धागाहरूमा ५० वटा कथाहरू समावेश छन् । जसमा विविध विषयवस्तु, परिवेश, जीवनका फरक फरक अनुभूतिहरू र मानिसका जीवन जीउने बेग्ला-बेग्लै सोच र तरिकाका बारेमा सरल भाषामा गहन विषय रोचक रुपमा प्रस्तुत गरिएका छन्। यस संग्रह‌मा मानव जीवनमा दैनिक देखिने र भोगिने घटना र सन्दर्भहरूलाई विषय बनाएर लेखिएका सन्देशमुलक कथाहरू भेटिन्छन्। पुस्तकमा साहित्यकारद्वय श्री शंकर प्रसाद कोइराला र मोहन दुवालज्यूले शुभकामना मन्तव्य लेख्नुभएको छ ।

दोस्रो कृति ‘रंगीचंगी फूलहरूले सजिएको फूलबारी’ लघुउपन्यासमा पारिवारिक सद्भाव, समन्वय, आपसी मेलमिलाप र सकारात्मक सोचलाई मुख्य विषय वस्तु बनाइएको छ। यस पुस्तकमा साहित्यकार ध्रुव मधुकर्मी तथा शंकर कोइरालाज्यूले आफ्नो मन्तव्य लेख्नुभएको छ।

तेश्रो कृति नेपाल भाषामा प्रकाशित ‘घुटु चियाया’ कथा संग्रहमा ६० वटा कथाहरू समेटिएका छन्। यस पुस्तकमा समसामाहिक विषयवस्तु, मानव समवेदना, प्रकृति कला र संस्कृतिका विविध पक्षहरूको चित्रण गरिएका छन्। पुस्तकमा साहित्यकार यज्ञ रत्न धाक्वा तथा लोचन तारा तुलाधरज्यूले मन्तब्य लेख्नुभएको छ।

चौथो कृति अंग्रेजी भाषामा प्रकाशित ‘नेचर’ शीर्षकको लघुउपन्यासमा प्रकृति प्रेम, प्राकृतिक सौन्दर्य लगायत नेवारी समुदायका संस्कृति र रितिरिवाजका बारेमा लेखिएका छन। यो कृति लेखिका मोती शोभाको २०७८ मा प्रकाशित “प्रकृति” शिर्षकको लघुउपन्यासको अंग्रेजी रुपान्तरण हो । यसमा पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्र बहादुर चन्दज्यूले शुभकामना मन्तब्य लेख्नुभएको छ।

लेखिका मोती शोभा श्रेष्ठको जन्म काठमाडौंको मरु टोलमा भएको हो । अर्थशास्त्रमा स्नातकोत्तर गरी सरकारी सेवामा लामो समयसम्म कार्यरत रही नेपाल सरकारको सह सचिब पदबाट वहाँले अवकाश प्राप्त गर्नु भएको थियो। मोती शोभा श्रेष्ठ नेपाली साहित्यमा नयाँ नाम भएता पनि वहाँका यस अघि २०७८ सालमा चार वटा लघु उपन्यास ‘प्रकृति’, ‘सत्य र आमा’, ‘सम्झनाको डायरी’ र ‘आँसु’ तथा २०८० सालमा “चियाको चुस्की” कथा संग्रह प्रकाशित भईसकेका छन्।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly