

दिलिप शर्मा,
अध्यक्ष, जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोक

आर्थिक मन्दि, सबैतिर त्रास अनि सन्त्रास, सबैको एउटै कुरो कसरी आर्थिक अवस्था सुधार गर्ने ? आम्दानीमा बृद्धि गर्ने ? सदस्यको सन्तुष्टि कायम गर्ने ? आजकल यहि र यस्तै बिषयहरुले बजार पाएका छन् । सजिलो अवस्थामा जसले पनि संस्था चलाउछन् । जसरी पनि मुनाफा आर्जन हुन्छ । तर आजकल समय अलि फेरिएको छ । शेयर सदस्यहरुमा विस्वास, भरोसा अनि सम्वन्ध चिसिएको हो की भन्ने सबैलाई लागेको छ । अनि शेयर सदस्यहरुमा एक प्रकारको शंका पनि छ । के गर्ने होला ? द्धिविधामा परेका देखिन्छ । सहकारी संस्थाहरुमा हिजोका दिनहरुमा जस्तो विस्वास आर्जन गर्ने कसरी भन्नेमा नै बहस भइरहेको सुनिन्छ, देखिन्छ । तुलनात्मक रुपमा हिजोका दिनहरु भन्दा आज सञ्चालकहरु चिन्तित भएको देखिन्छ । यो आषाढ महिना लाग्ना साथ दिनहु जस्तो बैठक तथा छलफल औपचारिक वा अनौपचारिक रुपमा भइरहेको देखिन्छ । यस्तै बैठकहरु हिजोका दिनहरुमा पनि यस्तै कार्यहरु नियमित गर्न पाएको भए अहिले यस्ता खालका समस्याहरुबाट हामी भाग्नुपर्ने थिएन ।
सहकारी क्षेत्रले वास्तवमा नै निकै ठूलो कार्यहरु गरेको छ । अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने गरी निकै प्रयासहरु भइरहेका छन् । प्रत्यक्ष रोजगारीका क्षेत्रमा होस या आर्थिक क्षेत्रमा योगदानको रुपमा होस । लाखौं मानिसहरुलाई रोजगारी दिएर राज्यको दायित्व सहकारी क्षेत्रले योगदान गरेको छ । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा गरेका कामहरुलाई सामाजिक सञ्जाल तथा समाचारमा ल्याएर प्रचार प्रसार गर्न हामीले नसकेका कारण सहकारी क्षेत्रले केहि गर्न सकेन भनेर आलोचित हुनु परेको तीतो यथार्थ हामी माझ छ । गरिखाने बर्गहरुका लागि दिन अति अत्यावश्यकीय क्षेत्रमा नजिकैका सहकारी संस्थामा गएर गर्जो टार्ने गरेका शेयर सदस्य तथा आम सर्वसाधारणहरुले सहकारी प्रतिको विस्वास र भरोसालाई मार्न पटक्कै दिदैनन् । किनभने दुःख सुखका सारथी बनेर दैनिक रुपमा शिक्षा, स्वास्थ्य, कृषि, खरखाँचो टार्ने गरिरहेको आम समुदायहरुले यसको माया अनि ममता गरिनै रहेका छन् । अझ समुदाय केन्द्रित सहकारी संस्थाहरुले दिनरात नभनी आम शेयर सदस्यहरुका समस्या प्रति गम्भिर भएर योजना निर्माण गरी विभिन्न कार्यहरु गरिरहेका छन् । जिल्लामा रहेका १४९५ वटा सहकारी संस्थाहरु मध्ये केहि सहकारी संस्थामा समस्याहरु देखा परेको सबैलाई जानकारी नै छ । प्रतिशतका आधारमा निकै थारै संस्थामा समस्याहरु सिर्जना भएका छन् । यस्ता समस्याहरुलाई निकाकरण गर्नका लागि विभिन्न प्रकारका कार्यहरु समेत भइरहेका छन् । विभिन्न खालका अफवाहरु फैलाएर सहकारी क्षेत्रलाई नै तहस नहस पार्नका लागि अहोरात्र लाग्ने केहि मानिसहरुका सपनालाई अभियानमा लाग्ने सबै जना लगायत सम्पूर्ण शेयर सदस्यहरु एकजुट भई एकताको सन्देश दिनुपर्ने अवस्था सिर्जना भएको छ ।
आर्थिक बर्षको अन्त्य तिर आइपुग्दा धेरै सहकारी संस्थामा सकारात्मक रुपमा कार्यहरु भइरहेकाले यसबाट भाग्नुपर्ने, आत्तिनुपर्ने केहि छैन । समुदायस्तरमा चलिरहेका सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुको हितका लागि विभिन्न नीतिहरु मार्फत कार्यान्वयन गर्दै प्रयोगमा ल्याएकाले राम्रो सन्देश प्राप्त भइरहेका छन् । अव यस आर्थिक बर्षको अन्तिम आषाढ महिना भएकाले यसमा हामी अभियानमा जोडिएका सबैलाई चटारो पनि छ । त्यसैले आफ्ना सहकारी संस्थाका शेयर सदस्यहरु माझ उपस्थित हुने बिषयलाई पहिलो प्राथमिकतामा राखेर हामी हाम्रो अभियानको बिषय जानकारी गराउनु पर्दछ । हिजोका दिनहरुमा हामी हाम्रै हिसाबले काम गर्न बाध्य भयौं । कसैले शेयर सदस्यहरुको घरमा पुग्ने कोशिसलाई प्राथमिकतामा राखेनौं । सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक अवस्था बुझ्ने कोशिस गर्र्दै गरेनौं किनभने पहिला अहिलेको जस्तो अवस्था थिएन अनि आवश्यकता पनि देखेनौं । अहिलेको अवस्थामा आर्थिक मन्दिका कारण शेयर सदस्यहरुको पनि रोजगारी तथा आम्दानीका श्रोतहरु खस्किएका छन् । उत्पादनमूलक क्षेत्रहरु साँघुरिएका छन् । साँघुरिएका क्षेत्रहरुलाई फराकिलो बनाउने, समस्या बुझ्ने, सामाधानका उपायहरु खेज्ने, संस्था जुन जस्तो अवस्थाबाट गुजिैरहेको छ जुन अवस्थामा छ सोहि अनुसार संस्थागत सुधारका योजना सहित वहँहरुकै घर आँगनमा बसेर प्रतिबद्धता जाहेर गर्दै योजना सहितका गतिविधिहरुलाई योजनाबद्ध तरिकाले सबै कर्मचारी, सञ्चालक, लेखा विभिन्न उप समिति सदस्यहरु एकजुट भई सहकारी संस्थाका जिम्मेवार ब्यक्तिहरु आफ्ना सदस्यहरुको आँगनमा पुग्दा यसले विस्वास आर्जन हुन्छ । जसका कारण संस्था र सदस्यहरु बीचको सम्वन्ध सुधार हुन्छ । अनि संस्था बलियो भई बिग्रन लागेको जग मजबुद हुन्छ । त्यसैले सहकारी संस्था तथा अभियानमा लागेका सबैको पहिलो काम भनेको शेयर सदस्हरु माझ पुग्ने र अवस्था विश्लेषण गरी विस्वास आर्जन गर्ने पहिलो शर्त बनाउनु राम्रो हुन्छ ।
जय सहकारी ..





