

खानिखोला गाउँपालिका–३, काभ्रे।
सिङ्गापुरका गुरु थुप्तेन कर्मा रिन्पोछेको विशेष उपस्थितिमा भृकुटी माध्यमिक विद्यालयका नानी–बाबुहरुलाई ट्र्याकसुट, टोपी, जुत्ता र मोजा वितरण गरिएको छ। विद्यालयका विद्यार्थीहरूलाई जाडोमा सहज बनाउने उद्देश्यसहित गरिएको वितरण कार्यक्रममा स्थानीय निकायका प्रतिनिधि तथा समाजसेवीहरूको पनि सहभागिता रहेको थियो।

यस कार्यक्रमका लागि न्यानो सामग्री सहयोग पुर्याउने Keta Keti Nepal Mul House France का भिम गोले र अविरल जिम्बालाई विद्यालय परिवारले विशेष धन्यवाद व्यक्त गरेको छ। सहयोगकर्ताहरुले निरन्तर सामाजिक काममा सहकार्य र साथ दिइरहेकोमा सराहना गरिएको थियो।



गुरु थुप्तेन कर्मा रिन्पोछे स्वयं विद्यालयमै उपस्थित भई छात्र–छात्रालाई आशीर्वादसहित सामग्री वितरण गर्दा विद्यालय वातावरण झनै उत्साहित बनेको थियो। गुरुलाई कार्यक्रममा उपस्थित गराउन महत्वपूर्ण भूमिका खेलेकी सदाबहार नायिका चाँदनी मोक्तानप्रति पनि विशेष कृतज्ञता व्यक्त गरिएको छ।
कार्यक्रममा खानिखोला गाउँपालिकाका अध्यक्षईन्द्र बहादुर थिङ, वडा नं. ३ का वडा अध्यक्ष सागर लामा, र समाजसेवी तथा युवा नेता राजन अधिकारीले आ–आफ्नो भनाइ राख्दै शिक्षामा सहयोग र हातेमालोले विद्यालय तथा समुदायको विकासमा ठूलो भूमिका खेल्ने उल्लेख गरेका छन्।
उनले भविष्यमासमेत विद्यालयको आवश्यकता अनुसार सहयोग जुटाउन आफूहरू प्रतिवद्ध रहने बताएका थिए।


