– सुरज श्रेष्ठ
आज चैत ९ गते । मेरो जीवनको कालो दिन हो । त्यो दिनदेखि म आफै पनि मृत्युसँग लडिरहेको छु । जीन्दगीको सबै खुशी र सुःख सारा लुटिएको दिन हो । खोइ कहाँ गएर अन्त्य हुन्छ, थाहा छैन ।

समय त कती छिट्टै बितिसकेछ, तर मलाई आज हो जस्तो लागिरहेको छ । आज भन्दा ११ बर्ष अगाडि आजकै दिन मेरो भाग्य खोसिएको दिन । आजकै दिन मेरी आमाले मलाई टुहुरो बनाएर गएको दिन । लाग्छ यस्तो दिन कसैलाई पनि आई नपरोस ।

त्यो अपत्यारिलो घटना मेरो मस्तिष्कमा अझै पनि ताजै छ । त्यो दिनलाई सम्झदाँ मन भारी हुन्छ, सम्हालिन गाह्रो हुन्छ । आमा, साच्चै नै साह्रौ गाह्रो छ, तपाई बिनाको यो जिन्दगी ।

आमा, तपाई अहिले हामी माझ हुनुहुन्न । तर, तपाईसँग जोडिएको हरेक पल, हरेक क्षण मेरो मनभरी छ, मेरो हृदयभरी छ । तपाईसँग बिताएका हरेक समय मेरो मनस्पटलमा अझै ताजा छ । तपाईलाई नसम्झेँको कुनै पल छैन । जति जति तपाईलाई सम्झन्छु, मेरो बालापनसँग जोडिएका मेरा यादहरुले सताउँछन् ।

ती यादहरुले मेरो मन भकानिन्छ । आँखाहरु यसै रसाउन थाल्छन् । अनि तपाईको हसिलो अनुहार आँखा अगाडी डुलिरहन्छन् । लाग्छ, तपाई मेरै सामु हुनुहुन्छ । बाबु भनेको झैँ तपाईको आवाजको स्पर्श गर्छु । तपाईको न्यानो काखमा मस्त निदाएको अनुभूति गर्छु । तर, यी सब मेरा कल्पना मात्रै हुन् ।

सबैकी आमा प्यारी भएजस्तै, मेरी आमा पनि प्यारी हुनुहुन्थ्यो । आमाको माया र ममताको व्याख्या गरेर कहिल्यै सकिदैन । अरुभन्दा धेरै फरक हुनुहुन्थ्यो, मेरी आमा । जति नै दुःख, जति नै पीडा भएपनि कहिल्यै बाहिर देखाउनु हुदैनथ्यो । चिन्ता गर्नु हुदैँन है भनेर बेला-बेलामा हामीलाई सम्झाई बुझाई गर्नुहुन्थ्यो ।

त्यो समयमा आमाले परिवारको लागि गर्नुभएको दुःख मेरो मनस्पटलमा अहिले पनि गुमिरहेको छ । हाम्रो सानो परिवार थियो । दुःखसुख गरेर दैनिकी चल्थ्यो । कामको शिलशिलामा बुबा विदेशीनु भएपछि घरको सम्पूर्ण जिम्मेवारी आमाकै काँधमा थियो । बुबा विदेशिनु भएपनि हाम्रो स्याहारसुसारमा आमाले कुनै कमी हुन दिनुभएन ।

गाउँघरमा खेती किसानी नै आम्दानीको श्रोत हुन्थ्यो त्यो बेला । आमाको दैनिकी गाउँवेशी, मेलापात, गाईबस्तुको स्याहारसुसार र खेती किसानी गर्दैमा बित्थ्यो । झिस्मिसे उज्यालोेदेखि झमक्कै रात पर्दासम्म आमाको हात खाली हुदैनथ्यो । दिनभरीको कामको थकान भएपनि साँझ एकैछिन आफ्ना छोराछोरीसँग समय बिताउँनुहुन्थ्यो ।

यसरी नै हाम्रा दिनहरु बित्दै थिए । बुबा विदेशीनुको भएको धेरै वर्ष बित्दा पनि केही खबर पाएका थिएनौँ । त्यसका कारण पनि आमालाई सबै जिम्मेवारी सम्हान गाह्रै थियो । तर पनि आफ्नो जिम्म्मेवारीबाट पछि हट्नुभएन । त्यसकारण पनि फेरी भन्छु, मेरी आमा अरुभन्दा फरक हुनुहुन्थ्यो, प्रेरणादायी हुनुहुन्थ्यो ।

आमाले जीवनमा धेरै संघर्ष गर्नुभयो । संघर्ष गर्दा गर्दै मेरी आमाको जीवन रित्तियो । रित्तियो आमाका अधुरा सपनाहरु । आमाले गर्नुभएको संघर्षको बारेमा लेख्नका लागि मेरा हातहरु थाक्दैनन् । मेरा शब्दहरु सकिदैनन् । मृत्युपश्चात मान्छे खरानी भएर कहाँ पुग्छ थाहा छैन । तर मेरी आमा मेरै मनमा हुनुहुन्छ । मेरै मस्तिष्कमा हुनुहुन्छ । मसँगै हुनुहुन्छ, मेरी आमा ।

(२०७९ चैत्र ९ गते लिखित)

तपाईको प्रतिक्रिया

भुम्लु गाउँपालिका वडा न ७ समृद्धिको यात्रामा Documentary Bhumlu Gaupalika Oda No 7 Phalate वृतचित्र