प्रचार प्रसारको रुपमा भन्दा फरक तरिकाले उमेद्वारहरु जनताकोमा गैरहेका छन । काभ्रेमा गठबन्धनसंग एक्लै चुनावी प्रतिस्पर्धामा रहेको एमाले केहि उमेद्वार सर्वसम्वत र बाँकी पनि बेलैमा टुंगाएको र कुनै पनि असन्तुष्टी नदेखिदा पहिले देखि नै चुनावी प्रचारमा लागेको हो । गठबन्धनमा ढिलो आएको टिकट त्यो पनि असन्तुष्टीबढी हुदा प्रचार अभियानमा जान ढिला भएको छ ।
जिल्लाको दुई प्रतिनिधिसभा र ४ प्रदेश सभा सदस्यका लागि दल र स्वतन्त्र गरी ६७ जनाको उम्मेदवारी परेकोमा केहि स्वतन्त्रले उमेद्वारी फिर्ता लिएका छन । जिल्लाका दुवै क्षेत्रमा सत्ता गठबन्धनमा रहेका दल, एमाले, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपालगायतका नेताले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका सूर्यमान दोङ, एमालेका तर्फबाट रेशम लामा बिच मुख्य प्रतिष्पर्धा हुदै छ । जसको प्रदेशसभा १ (क) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रत्न ढकाल, एमालेका तर्फबाट दिलबहादुर (दिलीप) लामा, प्रदेशसभा (ख)मा गठबन्धनका तर्फबाट कांग्रेसका तीर्थ लामा र एमालेका तर्फबाट चन्द्रबहादुर लामा प्रतिष्पर्धामा छन् ।

त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ मा एमालेका तर्फबाट गोकुलप्रसाद बाँस्कोटा र गठबन्धनका तर्फबाट कांग्रेसका शिवप्रसाद हुमागाईँ तथा प्रदेशसभा (क)मा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका लक्ष्मण लम्साल, एमालेका कुमार खकुरेल, प्रदेशसभा (ख)मा गठबन्धनका तर्फबाट कांग्रेसका कञ्चनचन्द्र बादे र एमालेबाट कुमार थापा बिच मुख्य प्रतिष्पर्धा हुदैछ ।

काभ्रे जिल्लामा ३ लाख १० हजार ६३ मतदाता रहेका छन । निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावली अनुसार १ लाख ५७ हजार ९ सय ४७ पुरुष, १ लाख ५२ हजार १ सय १४ महिला र २ अन्य मतदाता रहेका छन् ।
जस अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा कुल मतदाता १ लाख ५२ हजार ६ सय ९९ रहेका छन् । जसमा ७८ हजार ८ सय १६ पुरुष र ७३ हजार ८ सय ८२ महिला र अन्य १ मतदाता रहेका छन् । १ सय ९५ वटा मतदान केन्द्रबाट मतदाताहरुले मतदान गर्नेछन् । सो क्षेत्रको प्रदेश सभा १ मा ४० हजार १ सय १ पुरुष, ३६ हजार ४ सय ५२ महिला गरी ७६ हजार ५ सय ५३ मतदाता रहेका छन् । जसमा ९४ वटा मतदान केन्द्र रहेका छन् । प्रदेश सभा २ मा ३८ हजार ७ सय १५ पुरुष र ३७ हजार ४ सय ३० महिला गरी ७६ हजार १ सय ४६ मतदाता रहेका छन् । जसमा ९५ वटा मतदान केन्द्र रहेका छन् ।
त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ मा ७९ हजार १ सय ७४ पुरुष र ७८ हजार २ सय ६७ महिला गरी १ लाख ५७ हजार ४ सय ४२ मतदाता रहेका छन् । सो क्षेत्रको प्रदेश सभा क मा ३९ हजार २ सय ५८ पुरुष, ३७ हजार ८ सय ५० महिला र अन्य १ गरी ७७ हजार १ सय ९ जना मतदाता रहेका छन् । प्रदेश सभा ख मा ३९ हजार ९ सय १६ पुरुष र ४० हजार ४ सय १७ महिला गरी ८० हजार ३ सय ३३ मतदाता रहेका छन् ।
जिल्लामा एउटा मतदान स्थल थप भएको छ । प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्वर १ अन्र्तगत प्रदेश सभा २ को धार्ने ज्योती माविमा एउटा मतदान स्थल थप भएको छ । स्थानीय तहको निर्वाचनमा कायम भएका ३ सय ८१ वटा मतदान केन्द्रबाट थप भएर ३ सय ८९ पुगेको हो । –नव क्षितिज साप्ताहिकबाट