बनेपा साकोसद्वारा विद्यालयमा सहकारी शिक्षा तथा स्टेशनरी वितरण

बनेपा–८ स्थित बनेपा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शिक्षा सदन माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै सहकारी शिक्षा तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।

कक्षा १० मा अध्ययनरत ४८ जना विद्यार्थीलाई सहकारी सम्बन्धी ज्ञान प्रदान गरिनुका साथै कक्षा १ र २ का ७४ जना बालबालिकालाई स्टेशनरी सामग्री वितरण गरिएको हो।

बिज्ञापन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मण दाहालले स्वागत मन्तव्य राखेका थिए। सहकारी शिक्षाका विषयमा सचिव जितेन्द्र नकर्मी र सहायक व्यवस्थापक रविना प्रधानले जानकारी प्रस्तुत गरेका थिए।

सहकारी संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित उक्त कार्यक्रममा शिक्षा समिति सदस्यहरू कमला मल्ली, प्रयागराज कारंजित र दया कोख श्रेष्ठले विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले सहकारीको यस्तो सहयोगले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा अझ प्रभावकारी र विद्यार्थीमैत्री कार्यक्रमहरू सञ्चालन हुने अपेक्षा समेत व्यक्त गरे।

सहकारी र विद्यालयबीचको सहकार्यले विद्यार्थीहरूमा चेतना, जिम्मेवारी र समावेशी सोचको विकास गर्न सघाउने जनाइएको छ।