

बनेपा÷पाँचखाल फुटवल एशोसिएसन (पुफा) को आयोजनामा तेस्रो पाँचखाल महोत्सव सोमबारबाट रातोमाटो खेल मैदानमा सुरु भएको छ । महोत्सवको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले उद्घाटन गरे । कृषि, पर्यटन, साँस्कृतिक तथा व्यापार मेला भन्ने मुल नारा दिएर सुरु भएको महोत्सवमा व्यापारिक तथा व्यवसायिक स्टल राखिएका छन् ।
नेपालीहरुको महानपर्व दशैको पावन अवसरमा आयोजित पाँचखाल महोत्सवमा दनुवार समुदायको भाषा र सस्कृति झकल्ने स्टल, परम्परागत कला सस्कृति, औद्योगीक व्यापार, घरेलु, कृषि,पर्यटन प्रर्वद्धनको निमित्त आयोजना गरिएको अध्यक्ष मिलन श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा १ सय भन्दा धेरै स्टल रहेका छन् । कोभिड १९ ले थलिएको अर्थतन्त्र उकास्नका लागी स्थानिय व्यापारी तथा उत्पादनलाई प्राथमिकतामा राख्दै न्युन शुल्क लिएर जिल्ला भरि छरिएर रहेका ब्यवसायीहरुलाई महोत्सवमा समेट्ने प्रयास गरिएको छ ।

महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, कृषि, घरेलु उद्योग, विभिन्न प्रकारका लत्ता कपडाहरु, खाद्यान्न, अटोमोबाईल, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु, कृषि औजारका सामाग्रीहरुको स्टलहरु छन् । महोत्सवमा बिक्रि हुने सामाग्रीहरुमा विशेष छुटको व्यवस्था गरिएको संयोजक काफ्लेले बताउनु भयो ।
मनोरञ्जनका लागी महोत्सवमा बाल उद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनि बञ्जी जम्प,वाटर बल्ब, मिकि माउस, टेम्पोलिङग, स्करपियोको आदिका साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको हाँस्य व्यङ्ग तथा गीत गायनको प्रस्तुति प्रत्येक दिन रहनेछ । महोत्सव असोज १५ गते सम्पन्न हुनेछ । महोत्सवमा उपत्यका र काभे्र, सिन्धुपाल्चोक दोलखा, आदि जिल्लाका बासिन्दाहरुले लाभ लिने अपेक्षा गरिएको छ ।
महोत्सवको उद्घाटन कार्यक्रममा पाँचखाल नगरपालिकाको उपप्रमुख सुर्यमायाँ दनुवार, जिल्ला समन्वय समितीका उपप्रमुख रिमबहादुर तामाङ, वडा अध्यक्ष सुन्दर तामाङ, नगरका प्रवक्ता सन्जय तामाङ, नेपाली कांग्रेसका नेता सुन्दरमणी आचार्यले जिल्लाको समृद्धीका लागि थप आयाम थप्न सहयोग पुग्ने विश्वास ब्यक्त गरेका थिए ।





