काभ्रे – जिल्लाको पनौती नगरपालिका वडा नं ५ स्थित चौकोटमा बिजुलीको पोलमा तार मिलाउने क्रममा एक पुरुषको मृत्यु भएको छ। पनौती नगरपालिका वडा नं का केदार पुटुवारको मृत्यु भएको पनौती नगरपालिकाका वडा अध्यक्ष श्रीधर कुइँकेलले जानकारी दिए । उनका अनुसार सोमबार बेलुका ४: ३० बजेको समयमा बिजुलीको पोलमा तार व्यवस्थापन गर्ने क्रममा केदारको मृत्यु भएको हो ।
घटनाबारे विवरण बताउँदै वडा अध्यक्ष कुइँकेलले भने, ‘चौकोट स्थित राउत गाउँ जाने बाटोमा बिजुलीको तार चुडिएको रहेछ । बिजुलीको तार चुडिएपछि स्थानीयले विद्युत प्राधिकरणलाई खबर गरेका थिए । विद्युत प्राधिकरणका कर्मचारीले चुडिएको तार मर्मत गरिदिएका थिए । मर्मत गरिएको तार भुइमा लत्रिएपछि त्यसको व्यवस्थापनका लागि स्थानीयले पुनः प्राधिकरणलाई खबर गरे । प्राधिकरणले पोल राखेर स्थानीयलाई नै व्यवस्थापन गर्न निर्देशन दिएपछि । सोही निर्देशन अनुसार लत्रिएको तार व्यवस्थापन गर्ने क्रममा ११ हजार भोल्टको तारमा छुदाँ स्थानीय केदार पुटुवारको मृत्यु भएको हो । उक्त घटनामा अर्का स्थानीय कवि नेपाली घाइते भएका छन् ।’ विद्युत प्राधिकरणको गैर जिम्मेवारीका कारण घटना घटेको वडा अध्यक्ष कुइँकेलले बताए ।
नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्र बनेपा शाखामा घटनाबारे बुझ्दा, शाखाका प्रमुख ध्रुवराज कार्की घटनाबारे यस्तो बताउँछन्, ‘स्थानीय आफैले तार व्यवस्थापन गर्दा तारले माथि ११ हजार भोल्टको लाइनमा छुदाँ घटना घटेको हो । यसमा विद्युत प्राधिकरणको कुनै गल्ती छैन । विद्युत प्राधिकरणले कुनै निर्देशन पनि दिएको छैन । स्थानीयले आफूखुशी तार व्यवस्थापन गर्दा उक्त घटना घटेको हो ।’