काभ्रे – नेपाली कांग्रेस काभ्रेका नेता एवं समाजसेवी हेम कुमार तामाङको पहलमा क्यान्सर पिडितलाई सहयोग गरिएको छ । मुखको क्यानसरले थलिएका काभ्रेको पाँचखाल नगरपालिका वडा नं ड स्थित चिसापानीका ४१ वर्षीय उमेश तामाङलाई कांग्रेसका नेता एंव समाजसेवीको पहलमा १ लाख रुपैंया सहयोग प्रदान गरिएको हो ।
आफ्नो गाउँको भाई क्यान्सर रोग पिडित भएको र उपचारको लागि आर्थिक स्थिती कमजोर भएकाले साथीभाईको सहयोगमा उमेशलाई १ लाख रुपैंया सहयोग गरिएको समाजसेवी हेम कुमार तामाङले बताए । उमेशको स्थिती बारेमा अमेरिकाको न्यूरोकमा रहेका साथीहरुलाई आफूले जानकारी गराएको र साथीहरुको मामा–भान्जा ग्रुपले उनलाई सहयोग गर्ने बताएपछि रकम जम्मा गरी उमेशलाई उक्त रकम हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
उक्त रकम सोमबार, समाजसेवी कुमार तामाङ र पाँचखाल नगरपालिका वडा नं ८ का वडा अध्यक्ष संजय तामाङले क्यान्सर पिडितलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । समाजसेवी हेम र वडा अध्यक्ष तामाङले बिरामीलाई सहयोग र मनबोल बढाउँदै शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । आवश्यक परेमा आफूले थप आर्थिक सहयोग गर्ने प्रतिबद्धता हेम कुमार तामाङले व्यक्त गरे ।
विगत ६ वर्षदेखि मुखको क्यान्सरबाट पिडित भएका उमेशको उपचारको क्रममा ३ पटक तिन पटक शल्यक्रिया गरिसकिएको उमेशका दाजु दिनेश तामाङले बताए । उनका अनुसार, बिरामीको अवस्था केही सुधार भएको छ । भाईको उपचारमा हालसम्म १७ लाख रुपैंया सकिसकेको छ । आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न अलि समस्या भएको दिनेशले बताए । हालसम्म, नगरपालिकाबाट १० हजार रुपैंया सहयोग, बागमती प्रदेशबाट ५० हजार र केन्द्रिय सरकारबाट १ लाख रुपैंयाको अनुदान रकम पाएका छौं ।