
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि कार्ययोजना तयार बनाएको छ । आगामी फागुन २१ गतेलाई निर्धारण भएको निर्वाचनका लागि आयोगले कार्य योजना तयार पारेको हो ।


आयोगको कार्य योजना अनुसार निर्वाचनको प्रचार-प्रसारका लागि १४ दिनको समय निर्धारण गरिएको छ । आयोगका अनुसार निर्वाचन प्रचार-प्रसार अवधि फागुन ४ देखि १८ सम्म मात्रै रहनेछ । त्यसपछि मौन अवधि सुरु हुनेछ ।


त्यस्तै फागुन १२ गतेभित्र मतपत्र जिल्ला सदरमुकाम पुगि सक्नेछन् भने त्यसपछि जिल्लाका मतदान केन्द्रहरूमा पठाइनेछ । राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा निर्वाचन पूर्व तयारीको अवस्था र आगामी कार्यक्रमबारे आयोगले यसबारे जानकारी दिएको हो ।

बैठकमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र सचिवले संसदीय समितिलाई निर्वाचनको तयारीबारे जानकारी ब्रिफिङ गरेका हुन् ।


