खुला साहित्यिक कार्यक्रममार्फत क्यान्सर पीडित सुशीला बिकलाई आर्थिक सहयोग हस्तान्तरण

लामो समयदेखि तेस्रो चरणको क्यान्सरसँग संघर्ष गरिरहेकी सुशीला बिकको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले करुवा सिर्जनशील नेपालले आर्थिक सहयोग हस्तान्तरण गरेको छ। संस्थाले आयोजना गरेको खुला साहित्यिक कार्यक्रममार्फत संकलित रकम बिरामी बिकलाई हस्तान्तरण गरिएको हो।

२०८३ साल साउन २९ गते शुक्रबार चिया अफिस, चाबहिलमा करुवा सिर्जनशील नेपालको आयोजनामा खुला साहित्यिक कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा १५ भन्दा बढी साहित्यिक स्रष्टाहरूले कविता, मुक्तक, गजललगायत विभिन्न साहित्यिक प्रस्तुति राख्दै कार्यक्रमलाई सिर्जनात्मक तथा मानवीय भावनाले भरिपूर्ण बनाएका थिए।

बिज्ञापन

साहित्यिक प्रस्तुतिसँगै लामो समयदेखि क्यान्सरसँग जुधिरहेकी सुशीला बिकको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले सहयोग रकमसमेत संकलन गरिएको थियो। उक्त कार्यक्रममा सहभागी साहित्यप्रेमी तथा शुभेच्छुकहरूबाट कुल रु. २०,०२३ संकलन भएको थियो।

संकलित उक्त रकम करुवा सिर्जनशील नेपालका अध्यक्ष, उपाध्यक्ष, कार्यसमिति सदस्यलगायतको टोलीले आज बिरामी सुशीला बिकको गृह निवासमै पुगेर हस्तान्तरण गरेको हो। संस्थाका सदस्यहरू स्वयं बिरामीको घरमै पुगेर सहयोग हस्तान्तरण गरेपछि साहित्यिक गतिविधिसँगै मानवीय सेवामा संस्थाले देखाएको सक्रियताको समेत प्रशंसा गरिएको छ।

सहयोग हस्तान्तरणपछि करुवा सिर्जनशील नेपालका अध्यक्ष बिनोद थापाले साहित्यिक कार्यक्रममार्फत मानवीय सेवामा जोडिन पाउनु संस्थाका लागि खुसीको विषय भएको बताए। साहित्य सिर्जना र प्रस्तुति मात्र नभई समाजमा दुःख र अप्ठ्यारोमा परेका व्यक्तिहरूको साथ बन्न सक्नु पनि संस्थाको महत्वपूर्ण दायित्व भएको उनको भनाइ थियो।

त्यस्तै, संस्थाका सल्लाहकार संयोजक विजय घिमिरेले आगामी दिनमा पनि साहित्यिक गतिविधिसँगै सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिइने बताए। समाजमा आवश्यक परेको समयमा साहित्यिक समुदायलाई एकताबद्ध गर्दै सहयोग र सहकार्यका यस्ता अभियानलाई अझ प्रभावकारी बनाउने उनको भनाइ छ।

करुवा सिर्जनशील नेपालकी कार्यसमिति सदस्य सीता थापालियाले आफूले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय सहयोगका कामहरू गर्दै आएको बताउँदै करुवा सिर्जनशील नेपालसँग जोडिएपछि यस्ता कार्य गर्न थप हौसला मिलेको बताइन्। साहित्यिक क्षेत्रमा सक्रिय व्यक्तिहरू एकजुट भएर मानवीय सेवामा समेत योगदान गर्न पाउनु आफैंमा सकारात्मक र प्रेरणादायी कार्य भएको उनको भनाइ थियो।

संस्थाले साहित्यलाई सिर्जना र मनोरञ्जनको माध्यममा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयास गर्दै आएको जनाएको छ। साहित्यप्रेमी, स्रष्टा तथा शुभेच्छुकहरूको सहभागिताबाट संकलित सहयोग रकम बिरामीको उपचारमा केही हदसम्म भए पनि राहत पुग्ने विश्वास संस्थाले व्यक्त गरेको छ।

कठिन परिस्थितिबाट गुज्रिरहेकी सुशीला बिकको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको यस अभियानले ‘साहित्यसँगै समाजसेवा’ को भावना थप बलियो बनाएको छ। करुवा सिर्जनशील नेपालले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार यस्ता सामाजिक तथा मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।