यमुना केसीको ‘जडिया पोई’ ले तताउँदै तीजको माहोल

 

काठमाडौं । नेपाली नारीहरूको महत्वपूर्ण पर्व हरितालिका तीजलाई लक्षित गर्दै गायिका यमुना केसीको नयाँ तीज गीत ‘जडिया पोई’ सार्वजनिक भएको छ। तीजको मौलिकता, पारिवारिक सम्बन्ध र नेपाली समाजको परिवेशलाई समेटेर तयार गरिएको गीत तथा भिडियो यमुना केसीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

बिज्ञापन

‘जडिया पोई’ गीतमा यमुना केसीको स्वर तथा शब्द रहेको छ। गीतमा भद्र ओलीले संगीत, संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी सम्हालेका छन्। तीजको रमाइलो वातावरण, पारिवारिक सम्बन्ध र नेपाली समाजमा देखिने विभिन्न पक्षलाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गर्ने प्रयास गीतमार्फत गरिएको छ।

गीतको भिडियोमा कमल गाउँले, सुशीला निरौला, यमुना केसी र कुलबहादुर ओलीको अभिनय रहेको छ। भिडियोमा कलाकारहरूले तीजको वातावरण र गीतको भावअनुसार अभिनय तथा प्रस्तुति दिएका छन्।

भिडियोको निर्देशन भद्र ओलीले गरेका हुन् भने सञ्जिला विश्वकर्माले नृत्य निर्देशन गरेकी छन्। त्यस्तै, भिडियोको छायांकन अजय रेग्मीले गरेका छन्। बिनोद बमले सम्पादन तथा रङ संयोजन गरेका छन् भने सरोज बुढाले शृङ्गारको जिम्मेवारी सम्हालेका छन्। भिडियोको पोस्ट प्रोडक्सन साङ्ग्रिला क्रिएसन, काठमाडौंले गरेको हो।

तीज गीतको परम्परागत शैलीसँगै नयाँ पुस्ताले रुचाउने प्रस्तुति र मनोरञ्जनलाई समेत ध्यानमा राखेर ‘जडिया पोई’ तयार गरिएको निर्माण पक्षले जनाएको छ। तीजको अवसरमा महिला दिदीबहिनी तथा परिवारसँगै बसेर रमाइलो गर्ने वातावरणलाई गीतले थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ।

यमुना केसीले यसअघि पनि नेपाली लोक तथा तीज गीतमार्फत दर्शक–श्रोतामाझ आफ्नो पहिचान बनाउँदै आएकी छन्। यसपटकको ‘जडिया पोई’ पनि दर्शक तथा श्रोताले रुचाउने विश्वास निर्माण पक्षले लिएको छ।

नयाँ तीज गीत ‘जडिया पोई’ ले यस वर्षको तीजको सांगीतिक माहोललाई थप रमाइलो र उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ।