
काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकता रहेको बताएका छन्।

आज ललितपुरमा आयोजित १७औँ मानव अधिकार राष्ट्रिय महाभेलाको उद्घाटन कार्यक्रममा उनले भने, “संक्रमणकालीन न्याय प्रक्रिया (टीआरसी) लाई निष्कर्षमा पुर्याई सबै नागरिकको मानव अधिकार सुनिश्चित गर्नु आजको आवश्यकता हो।”

उनले नेपालले मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउँदै, “नेपालले अन्तर्राष्ट्रिय समुदायसँग गरेका प्रतिबद्धता पूरा गर्दै, टीआरसीलाई टुंग्याएर नागरिकको मानव अधिकारलाई सुनिश्चित गर्नु आवश्यक छ।”


गृहमन्त्री अर्यालले मानव अधिकारलाई सभ्य, समावेशी र लोकतान्त्रिक समाजको मेरुदण्ड मान्दै भने, “नागरिकको स्वतन्त्रता, समानता र सुरक्षित जीवन सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व हो।” उनले यस कार्यमा राज्यको मात्र होइन, समाजका सबै तह, नागरिक समाज, मानव अधिकारकर्मी र आम नागरिकको साझा प्रयासको आवश्यकता भएको बताए।
उनले लोकतन्त्र र मानव अधिकार एकअर्काका परिपूरक रहेको र लोकतन्त्र सुदृढ भए मात्र मानव अधिकारको प्रभावकारी कार्यान्वयन सम्भव हुने बताए।
समाप्त पारिएको प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सबै सरोकारवालाले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।


