नेपाल प्रहरीको ३३ औँ महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । उनी काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

बिज्ञापन

प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि नै आज सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो ।

२४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए ।

२३ भदौमा भने उपत्यकाको कमाण्ड एआईजीविहीन थियो । उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख थिए ।

डीआईजी हुँदा भने उनले लुम्बिनी प्रदेशको कमाण्ड सम्हाले । एसएसपीको जिम्मेवारीमा उनले काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हाल्दा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो ।

चुनौतीपूर्ण मानिने काठमाडौं जिल्लादेखि उपत्यकाको कमाण्ड सम्हालेका कार्कीले इमान्दार प्रहरी अधिकृतको परिचय बनाएका छन् ।

कुनै ठूलो आर्थिक विवादमा नमुछिएका कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव छ ।

विदेशमा विभिन्न तालिम लिइसकेका उनी नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता समेत भएका थिए ।

उनी महानिरीक्षक नियुक्तिका पहिलो दावेदार थिए । २०५४ चैत १८ मा नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जामा भर्ना भएका कार्की २०२९ साउन १५ मा गुल्मीमा जन्मिएका हुन् ।

उपत्यका प्रहरी कार्यालयको प्रमुखका रुपमा कार्यरत कार्की जेनजी आन्दोलनको बहानामा महानिरीक्षक नियुक्त नहुने भनी चर्चामा थिए । तर, सरकारले पहिलो नम्बरको उनको वरियतामाथि न्याय गर्दै नियुक्त गर्ने निर्णय गरेको छ ।