

पनौती । पनौती नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सबिन ताम्राकारले “दोस्रो पनौती सांस्कृतिक तथा व्यापार महोत्सव–२०८३” को औपचारिक उद्घाटन गरेका छन्। पनौती नगरपालिका–७ स्थित बसपार्क क्षेत्रमा आजदेखि सुरु भएको महोत्सव जेठ १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।


राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा आयोजित महोत्सवले पनौतीको स्थानीय कला, संस्कृति, व्यापार तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।


महोत्सव अवधिभर राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति, विविध सांस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता तथा फेसन शो आयोजना गरिनेछ। साथै औद्योगिक उत्पादन, सूचना तथा विज्ञान प्रविधि, ग्रामीण प्रविधि, अटोमोबाइल, विद्युतीय मेसिन तथा कृषि औजारहरूको प्रदर्शनी समेत राखिएको छ।
त्यसैगरी मोबाइल तथा इलेक्ट्रोनिक सामग्री, लत्ता–कपडा, भाडाकुँडा लगायतका व्यापारिक स्टलहरू पनि महोत्सवका आकर्षणका रूपमा रहेका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका विभिन्न परिकारको स्वाद लिन सकिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।
बालबालिकाका लागि एसियाकै उत्कृष्ट भनिएको बाल उद्यान, मनोरञ्जनात्मक खेल, रोटेपिङ, ब्रेक डान्स तथा रेल सेवाजस्ता मनोरञ्जनका सामग्रीसमेत समावेश गरिएको छ।
आयोजक संस्थाका अध्यक्ष नमराज ढुंगानाले महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन, सांस्कृतिक संरक्षण तथा पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै पनौतीको पहिचानलाई अझ सशक्त बनाउने लक्ष्य रहेको बताए।

