सदस्य सम्मानसँगै ज्योति मिर्मिरे सहकारीले मनायो २७ औँ वार्षिक उत्सव

पनौती — ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था ले आफ्नो २७औँ वार्षिकोत्सव भावनात्मक र गरिमामय वातावरणमा सम्पन्न गरेको छ। पनौतीलाई आधारभूमि बनाएर दुई दशकभन्दा बढी समयदेखि सहकार्य, विश्वास र आत्मीयताको यात्रामा अगाडि बढिरहेको संस्थाले यस वर्षको वार्षिकोत्सवलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी सदस्यबीचको सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा मनाएको हो।

संस्थाका अध्यक्ष उद्धव सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहकारी संस्था आर्थिक कारोबारको माध्यम मात्र नभई जीवनका हरेक परिस्थितिमा साथ दिने भरोसायोग्य आधार भएको धारणा व्यक्त गरिएको थियो। कार्यक्रममा ६१७ जना ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सदस्यहरूलाई सम्मान गर्दै सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता पनि प्रस्तुत गरिएको थियो।

बिज्ञापन

कार्यक्रमको सञ्चालन प्रमुख कार्यकारी अधिकृत गोपाल दाहाल ले गर्नुभएको थियो भने उपाध्यक्ष कान्छीमैया थापा ले स्वागत मन्तव्य राख्नुभएको थियो। यस अवसरमा उत्कृष्ट कारोबार गर्ने सदस्य, उत्कृष्ट विद्यार्थी तथा लक्ष्य हासिलमा अब्बल सेवा केन्द्रलाई सम्मान गरिएको थियो, जसबाट सामूहिक सफलता सबैको साझा प्रयासबाट सम्भव हुने सन्देश दिइएको छ।

त्यसैगरी, बनेपा सेवा केन्द्रमा कार्यरत कर्मचारी सुदीप तिमल्सिना लाई यस वर्षको ‘उत्कृष्ट कर्मचारी’ घोषणा गर्दै सम्मान गरिएको थियो। संस्थाले उक्त सम्मानलाई इमान्दारिता, समर्पण र संस्थाप्रतिको निष्ठाको मूल्याङ्कनका रूपमा लिएको जनाएको छ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ, नेपाल पत्रकार महासंघ का पदाधिकारी, पूर्व तथा वर्तमान अध्यक्षहरू, प्रारम्भिक संस्थाका प्रतिनिधि, कोअपरेटिभ म्यानेजर्स क्लबका सदस्य तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो। अतिथिहरूले संस्थालाई विश्वास, पारदर्शिता र सदस्यप्रतिको उत्तरदायित्वमा अडिग सहकारीका रूपमा प्रशंसा गरेका थिए।

ज्येष्ठ नागरिक भत्तालाई बचतसँग जोड्ने अभ्यास, समयअनुसार प्रविधिमैत्री सेवा विस्तार तथा सदस्यकेन्द्रित सोचले संस्थालाई भविष्य उन्मुख बनाउँदै लगेको कार्यक्रममा उल्लेख गरिएको थियो। साना बचतलाई ठूलो आशामा रूपान्तरण गर्दै व्यक्तिगत सपना सामूहिक यात्रामा बदल्ने लक्ष्यसहित संस्था निरन्तर अघि बढिरहेको छ।

यस वर्षको २७औँ वार्षिकोत्सवले सहकारी संस्था केवल आर्थिक कारोबारको थलो नभई सम्बन्ध, भरोसा र सहकार्यको माध्यम भएको पुनः पुष्टि गरेको छ। कार्यक्रम सञ्चालक समिति, उपसमिति, कर्मचारी तथा सदस्यहरूको उल्लेख्य सहभागितामा सम्पन्न भएको थियो।