तेमालबाट एमाले उम्मेदवार अमितको उद्घोष, “बुद्धचित्त मालाको ब्रान्डिङ गरी प्रबर्द्धन गर्छु ।”

 

काभ्रे -यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रे क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ नेकपा एमालेका उम्मेदवार अमित लामाले तेमालमा उत्पादन हुने बुद्धचित्त मालाको विकास, सुरक्षा र बजारीकरणका लागि लाग्ने बताउनुभएको छ ।

बिज्ञापन

शुक्रबारदेखि तेमालको घरदैलो अभियानमा रहनुभएका उहाँले यहाँका किसान जनतामाझ यस्तो बताउनुभएको हो ।

“प्राकृतिक रुपमा उत्तिकै सुन्दर धार्मिक तथा सांस्कृतिक रुपमा महत्त्वपूर्ण यो क्षेत्रमा फल्ने बुद्धचित्त माला बजार लगेर आम्दानी लिन अनेक समस्याहरु भोग्नुपरेको कुरा मैले बुझेको छु ।”, उम्मेदवार लामाले भन्नुभयो- “यहाँका जनताले दुख गरेर फलाएको उत्पादन बजारसम्म लैजान सुरक्षाका साथै बजार मुल्य प्रप्तिमा परेको सकस अब यो क्षेत्रबाट एमालेले जितेमा समाधान हुनेछ, त्यसको ग्यारेन्टी म लिन्छु, विश्वबजारमा यसको ब्रान्डिङका लागि सदनमा, सरकारमा गएर म लड्छु, तपाईंहरु निर्धक्कले मालाको खेती गर्नुभए हुन्छ ।”

बौद्ध धार्मिक आस्था, मुल्य मान्यता अनुसार महत्त्व राख्ने बुद्धचित्त माला तेमाललाई संसारमा चिनाउने पहिचान र यहाँका जनताको आर्थिक समृद्धिको मुख्य स्रोतको रुपमा विकास गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

बुद्धचित्त मालासँगै गुरु रेम्पोछेको पवित्र तपोभूमि तोङसोम कुँडाक, ऐतिहासिक ६ घ्याङ, ह्रेञ्जेन दोर्जे राजाको ईतिहास तथा एतिहासिक स्थलहरुको उत्खनन् तथा संरक्षण, बहुसांस्कृतिक संग्रहालय निर्माण एवं प्रबर्द्धन गरी पर्यटनको विकासमार्फत तेमाल समृद्धिको आधारदेखि मेरुदण्ड नै बलियो बनाउन सकिने उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ एमाले केन्द्रीय सदस्य समेत रहनुभएका युवा उम्मेदवार अमित लामा, समानुपातिक उम्मेदवार इन्द्रबहादुर तामाङको टोलि तेमालका समस्या पहिचान र सम्बोधनका लागि आफ्ना आगामी योजना, नीति लिएर जनताको घरदैलो अभियानमा छन् ।