

सुनसरी : प्रतिनिधिसभा सदस्य पदका लागि सुनसरी क्षेत्र नं. ४ बाट स्वतन्त्र उम्मेदवार यमुना केसीले आफ्नो चुनावी अभियान तीव्र बनाएकी छन्। चुनाव नजिकिँदै जाँदा उनी गाउँ–टोल, घर–घर र हाटबजार पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै समर्थन मागिरहेकी छन्।

“राजनीति सेवा हो, सुविधा होइन” भन्ने नारासहित अघि बढेकी केसीले भ्रष्टाचार नियन्त्रण, स्थानीय रोजगारी सिर्जना, स्वास्थ्य सेवा सुधार र शिक्षा पहुँच विस्तारलाई प्रमुख एजेन्डा बनाएकी छन्। घरदैलोका क्रममा उनले मतदाताका गुनासा र सुझाव टिपोट गर्दै घोषणापत्रमा समेट्ने प्रतिबद्धता जनाएकी छन्।


स्थानीय महिला, साना व्यवसायी र युवाहरूले उनको प्रत्यक्ष भेटघाट शैलीको प्रशंसा गर्दै व्यवहारमै प्रतिबद्धता कार्यान्वयन हुने अपेक्षा व्यक्त गरेका छन्। प्रतिस्पर्धा चर्किँदै गएको अवस्थामा घरदैलो अभियानलाई प्राथमिकता दिएको रणनीतिले केसीलाई अलग पहिचान दिलाएको विश्लेषकहरूको भनाइ छ।


