

काभ्रेपलाञ्चोक — जिल्ला सहकारी संघ लि. काभ्रेको आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक समीक्षा कार्यक्रम आज बिहान संघको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रम संघका अध्यक्ष अमन पोटे श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रममा संघका सल्लाहकार मुकुन्द प्रसाद दाहाल तथा सोभ प्रसाद हुँमागाई अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै संघका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका सदस्यहरू र कर्मचारीहरू गरी जम्मा ३२ जनाको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रमको प्रारम्भमा संघकी वरिष्ठ उपाध्यक्ष शान्ति लामा तामाङ्गले स्वागत मन्तव्य व्यक्त गर्दै अर्धवार्षिक समीक्षाले संस्थाको कार्यसम्पादन मूल्याङ्कन, लक्ष्य प्राप्तिको अवस्था विश्लेषण तथा आगामी कार्यदिशा निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले सबै सहभागीहरूलाई रचनात्मक सुझावमार्फत संस्थालाई थप सुदृढ बनाउन आग्रह गर्नुभयो।
यस अवसरमा संघका का.मु. प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठ द्वारा आर्थिक वर्ष २०८२/०८३ को श्रावण १ गतेदेखि पौष मसान्तसम्मको समग्र प्रगति विवरण प्रस्तुत गरिएको थियो। प्रस्तुत विवरणमा संघको वित्तीय अवस्था, आम्दानी–खर्चको स्थिति, विभिन्न शीर्षकमा भएको लगानी, सदस्य संस्थासँगको वित्तीय कारोबार, सेवा प्रवाहको अवस्था तथा प्रशासनिक व्यवस्थापनसम्बन्धी गतिविधिहरू समेटिएका थिए। साथै गत आर्थिक वर्षको सोही अवधिसँग तुलनात्मक विश्लेषण प्रस्तुत गर्दै आय वृद्धि, खर्च नियन्त्रण, पूँजीको अवस्थिति तथा नाफा–नोक्सानको तुलनात्मक तथ्याङ्क प्रस्तुत गरिएको थियो।
प्रस्तुतीकरणका क्रममा पौष मसान्तसम्म संघले सञ्चालन गरेका प्रमुख कार्यक्रम तथा गतिविधिहरूको पनि जानकारी गराइएको थियो। यस अन्तर्गत सदस्य संस्थाहरूको अनुगमन तथा सुपरिवेक्षण, क्षमता अभिवृद्धि तालिम, वित्तीय सुदृढीकरणसम्बन्धी पहल, आन्तरिक व्यवस्थापन सुधारका कदम तथा नीति–निर्देशन कार्यान्वयनको अवस्थाबारे विस्तृत विवरण प्रस्तुत गरिएको थियो। साथै सेवाकेन्द्र व्यवस्थापन, प्रशासनिक सुधार र सदस्य सेवाको गुणस्तर अभिवृद्धिका लागि गरिएका प्रयासहरूबारे पनि जानकारी गराइएको थियो।
प्रस्तुतीकरण पश्चात् उपस्थित सञ्चालक, लेखा सुपरिवेक्षण समिति सदस्य तथा अन्य सहभागीहरूले प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्दै विविध सल्लाह, सुझाव तथा जिज्ञासाहरू व्यक्त गरेका थिए। विशेषगरी वित्तीय अनुशासन सुदृढीकरण, जोखिम व्यवस्थापन, सदस्य संस्थासँगको समन्वय अभिवृद्धि, तालिम तथा अनुगमन कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा सुझावहरू प्रस्तुत भएका थिए।
उपस्थित सदस्यहरूले उठाएका प्रश्न तथा जिज्ञासाहरूको जवाफ दिँदै अध्यक्ष अमन पोटे श्रेष्ठले संघको कार्यसम्पादनलाई अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले अर्धवार्षिक समीक्षाबाट प्राप्त सुझावहरूलाई आगामी कार्ययोजनामा समावेश गर्दै संघलाई थप सुदृढ र सदस्यकेन्द्रित संस्थाका रूपमा विकास गरिने बताउनुभयो।
कार्यक्रमको सञ्चालन संघका सचिव प्रकाश बन्जाराले गर्नुभएको थियो। समग्र कार्यक्रम संयमित, उपलब्धिमूलक तथा सहभागितामूलक वातावरणमा सम्पन्न भएको संघले जनाएको छ।


