पशुपति मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तीव्र

काठमाडौं । पशुपति मन्दिर परिसरमा हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व महाशिवरात्रीको तयारी तीव्र पारिएको छ ।

आइतबार मनाइने महाशिवरात्रीका अवसरमा भक्तजनलाई सहज रुपमा मन्दिर दर्शनका लागि पशुपति क्षेत्र विकास कोषले आवश्यक तयारी गरेको हो । कोषले महाशिवरात्री पर्वका लागि भक्तजनलाई कुनै कमी हुन नदिने जनाएको छ ।

बिज्ञापन

शिवरात्रीका लागि साधुसन्तहरु पशुपति मन्दिर परिसर आइसकेका छन् । शिवरात्रीका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरु आउने गर्दछन् । यसरी आउने साधुसन्तलाई शिवरात्री सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने प्रचलन छ ।

शिवरात्रीका अवसरमा पशुपतिनाथको दर्शनका लागि स्वदेश तथा भारतका विभिन्न स्थानबाटसमेत भक्तजनहरु आउने गर्दछन् । शिवरात्रीकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्दछ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।