चितवनको भरतपुरमा पहिलोपटक ‘अन्तर्राष्ट्रिय डेरी प्रदर्शनी’ शुरु

 

निराज रानाभाट, चितवन । दुग्धजन्य उत्पादनको व्यवसायिकता प्रवर्द्धन, किसानहरुलाई प्रोत्साहन, डेरी उद्योगमा आधुनिक प्रविधिको प्रयोग र उद्यमशीलताको दिगो विकास गर्ने उद्देश्यका साथ चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र चितवन उद्योग संघको संयुक्त आयोजनामा ‘ अन्तर्राष्ट्रिय डेरी प्रदर्शनी – २०८२ ’ चितवनको भरतपुर महानगरपालिका वडा नम्बर -१०, स्थित चितवन प्रदर्शनी केन्द्रमा शुरु भएको छ । ‘ डेरीमा प्रविधि, अर्थतन्त्रमा समृद्धि ’ भन्ने नाराका साथ शुरु भएको प्रदर्शनीमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष किशोर बगाले र चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेको संयुक्त अध्यक्षता गरेका थिए । उक्त कार्यक्रममा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष किशोर बगालेले स्वागत मन्तव्यसहित प्रदर्शनीको बारेमा जानकारी गराएका थिए । यस्तै, कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालय ( पशु विकास तर्फ ) का सचिव डा. दिपक खराल प्रमुख अतिथि रहेको थिए । खरालले प्रदर्शनी मार्फत साना किसानहरु, उद्योगीहरु र व्यापारीहरुसम्म डेरी उत्पादनको प्रक्रिया र वितरण प्रणालीमा सहयोग पुग्ने बताए । खरालले प्रदर्शनीको माध्यमबाट बिटुबि मिटिङका माध्यमबाट डेरीजन्य उत्पादनको निर्यातसँगै कृषि सहकारीहरूलाई औद्योगिक उत्पादनमा प्रेरित गर्न टेवा पुग्ने बताए ।

बिज्ञापन

त्यसैगरी, कार्यक्रममा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका सल्लाहकार एवं केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका उपाध्यक्ष भागिरथ तिमिल्सना, नेपाल डेरी एशोसिएसन नेपालका अध्यक्ष प्रल्लाद दाहाल, डेरी उद्योग संघ नेपालका अध्यक्ष राजकुमार दाहाल, वाग्मती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरि पौडेल, राष्ट्रिय दुग्ध विकास संस्थानका महाप्रबन्धक सन्जिव झा, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादव, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ लिमिडेटका केन्द्रीय अध्यक्ष अमर बहादुर कुँवर, पशुपन्छी तथा मत्स्य विकास महाशाखाका सह – सचिव डा. शरण पाण्डे, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उप – कुलपति प्रा.डा.शारदा थपलियालगायतले प्रदर्शनीको सफलताको शुभकामना व्यक्त गरेका थिए । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका सचिव कल्याण अधिकारीले सञ्चालन गरेको कार्यक्रमलाई चितवन उद्योग संघका चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले धन्यवाद मन्तव्यसहित कार्यक्रम समापन गरेका थिए ।

उक्त प्रदर्शनी अन्तर्गत माघ २६ गते ‘ मानव स्वास्थ्यमा दुग्धजन्य पदार्थको आवश्यकता र महत्व ’ विषयक वक्तृत्वकला प्रतियोगिता, माघ २७ गते ‘ दुध उत्पादनको वर्तमान अवस्था बजारको समस्या र सामाधानका उपायहरु ’ सम्बन्धि कार्यपत्र प्रस्तुति सहित अन्तरक्रियात्मक कार्यक्रम (कार्यपत्रहरु: १) पशुपालनमा देखिने रोग र उपचार विधि, २) दुधको गुणस्तरीय उत्पादन र उत्पादकत्व वृद्धिको लागि प्रविधिको प्रयोग, ३) दुग्ध क्षेत्रको वर्तमान अवस्था र चुनौति तथा नीतिगत व्यवस्था तथा राज्यसँगको अपेक्षा, माघ २८ गते दुग्ध क्षेत्रसँग सम्वन्धित ‘ हाजिरी जवाफ प्रतियोगिता ’ र उन्नत जातको गाई प्रर्दशनी साथै सातै वटा प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयको सिफारिसमा १/१ वटा उत्कृष्ट दुग्ध उत्पादक सहकारी सम्मान कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

युस्तै, उक्त प्रदर्शनीमा वास्तविक डेरीजन्य उत्पादन उद्योगीहरू, उद्योगी बन्न इच्छुक व्यक्तिहरू, औद्योगिक नीति / निर्माताहरू, नीति नियम कार्यान्वयन तहका सरकारी कर्मचारीहरू, डेरीजन्य औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने तथा खोज अनुसन्धानकर्ताहरु, नेपालका डेरी उद्योगका सञ्चालक, लगानीकर्ताहरु तथा उच्च व्यवस्थापकहरू, डेरी उद्यमीका व्यवसायिक परामर्शदाताहरू, तीनै वटा तहका सरकारका प्रतिनिधिहरू (संघीय, प्रादेशिक, स्थानीय), प्रतिष्ठित लघु, घरेलु तथा साना उद्योगीहरू, कृषि विश्वविद्यालय तथा फुड टेक इन्जिनियरिङ्ग कलेजका प्रमुख एवं प्रतिनिधिहरू, उद्योगी व्यवसायीहरू, उद्यमीका छाता संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, दुग्धजन्य उत्पादनमा प्रत्यक्ष संलग्न व्यवसायिक किसानहरू, स्वदेशी उत्पादनका लागि प्रोत्साहन गर्ने व्यक्ति तथा समूहहरू, दुग्ध उत्पादक किसानहरू, दुग्ध उद्योग र कारखाना सञ्चालकहरू, दुग्ध उत्पादन सम्बन्धी मेशिनरी र उपकरण निर्माताहरू, खाद्य उद्योगका व्यवसायीहरू, अनुसन्धानकर्ताहरु, विद्यार्थीहरु, दुग्ध उद्योगका विज्ञहरू, बैंक तथा बीमा कम्पनीका प्रतिनिधिहरू गरी करिब ५० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।

आयोजकका अनुसार निःशुल्क प्रवेश रहेको उक्त प्रदर्शनी माघ २९ गतेसम्म संचालन रहने छ । प्रदर्शनीले नयाँ प्रविधि र नवप्रवर्तनको प्रदर्शनी, बजार विस्तार, ब्रान्ड प्रवर्द्धन, व्यवसायिक नेटवर्किङ, लगानी आकर्षण, गुणस्तर सुधार, महिला तथा युवा सहभागिता वृद्धि, साथै दुग्धजन्य उत्पादनको व्यापार र निर्यात प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्य लिएको छ । उक्त प्रदर्शनीमा नेपाल तथा छिमेकी देश भारतका डेरीजन्य स्टलहरु, डेरी प्रोसेसिङ तथा पशु आहार उद्योगमा आवश्यक मेशिनरी, डेरी उद्योगका लागि उपयोगी सफ्टवेयर, डेरीजन्य उत्पादन, डेरी सहकारी, पशुपालनमा प्रयोग हुने सामग्री तथा उपकरणहरू, पशुपालन आहार सम्बन्धिका स्टलहरु, पशु औषधी तथा भेटनरी सेवा सम्बन्धिका स्टलहरू, डेरीलाई उपयोगी हुने प्याकेजिङ उद्योगका स्टलहरु, आधुनिक सेड निर्माण कम्पनीहरु, बैंक तथा बीमा कम्पनीहरू, स्टार्टअप प्याभिलियनलगायत गरी ८४ वटा स्टलहरुको सहभागिता रहेको छ ।

उक्त प्रदर्शनीलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय दुग्ध विकास बोर्ड मुख्य प्रवर्द्धक तथा सह – आयोजकको रुपमा रहेका छन् । त्यस्तै, सहयोगी संस्थाहरुमा हेफर इन्टरनेशनल नेपाल, दुग्ध विकास संस्थान, डेरी उद्योग संघ र नेपाल डेरी एशोसियशन, संरक्षक संस्थाहरुको रुपमा नेपाल उद्योग परिसंघ र केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड रहेका छन् । उक्त प्रदर्शनीको प्रवर्द्धकको रुपमा पशु सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धकन कार्यालय, वाग्मती प्रदेश दुग्ध विकास बोर्ड, भरतपुर महानगरपालिकालगायत स्थानिय पालिकाहरु रहेका छन् ।