
काठमाडौं,
पुस २७ ।

आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो ।

हरेक वर्ष पुस २७ मा उहाँको योगदानको स्मरण गरेर यो दिवस मनाउने गरिन्छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं १७७९ पुस २७ गते गोरखामा जन्मिनुभएका पृथ्वीनारायण शाहले स-साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमासमेत दिने गरिएको छ । उहाँको विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा निधन भएको थियो ।


पृथ्वीनारायण शाह २० वर्षमा गोर्खाका राजा हुनुभएको थियो । शाहले राजगद्दीमा बसेलगत्तै नेपाल एकीकरण अभियानको सुुरुवात गर्नुभएको थियो । विसं १८०१ असोज १५गते नुवाकोटमाथि विजय हासिल गरेर उहाँले नेपाल एकीकरणको अभियान प्रारम्भ गर्नुभएको थियो । त्यसपछि कीर्तिपुर, कान्तिपुर, पाटन, भक्तपुर, मकवानपुर हुँदै उहाँले एकीकरण अभियानलाई पूर्वका चौदण्डी र विजयपुर हुँदै टिष्टासम्म पुर्याउनुभएको थियो । शाहले देशको पश्चिमी क्षेत्रमा पनि एकीकरण प्रयास गर्नुभएको थियो तर त्यो पूर्ण हुन सकेन । जे होस् नेपाल एकीकरण महान् अभियान उहाँले सुरुवात गर्नुभएको थियो ।
बाइसे–चौबीसे राज्यहरूलाई एकीकरण गरेर सिंगो नेपाल बनाएका कारण उहाँलाई राष्ट्रनिर्माता भनिएको हो । उहाँको निधनपछि कान्छा छोरा बहादुर शाहले नेपाल एकीकरण अभियान अघि बढाउनुभएको थियो ।
पृथ्वी जयन्तीका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान समारोहको आयोजना गरेको छ । राप्रपाले सो समारोहमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्षनेता, पूर्वप्रधानमन्त्री र विभिन्न व्यक्तित्वलाई आमन्त्रण गरेको छ । शाहको जन्मस्थान गोरखामा हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ ।
नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको राष्ट्र निर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ ।


