
विराटनगर ।
सशस्त्र प्रहरी बल नेपालको झण्डा मार्चपास सुनसरी पुगेको छ । सशस्त्र प्रहरी बल नेपालको पूर्वी टोलीले झापाको काँकडभिट्टाबाट थालेको झण्डा मार्चपास मोरङ हुँदै सुनसरी पुगेको हो । मोरङको सीमानाका हुँदै बिहीवार बिहान सीमा इलाका केशल्या पुल पुगेको मार्चपास टोलीले सुनसरीलाई झण्डा हस्तान्तरण गरेको छ । मोरङ, सुनसरी सीमा इलाका बर्जु ३ अमडुवाको केशल्या खोला पुलमा नम्बर ३ गण हेड क्वाटर कंकालिनी मोरङले नम्बर ४ गण हेड क्वाटर सुनसरीलाई झण्डा हस्तान्तरण गरेको छ ।

नम्बर ३ गण मोरङका एसपी राजेश घिमिरेले हस्तान्तरण गर्नुभएको झण्डा नम्बर ४ गण सुनसरीका एसपी ज्ञानमणि पौडेलले बुझ्नु भएको थियो । झण्डा बुझेपश्चात नम्बर ४ गण हेड क्वाटर सुनसरीले सीमानाका केन्द्रित मार्चपासलाई अघि बढाएको छ ।

सुनसरीको ६२ दशमलन ९ किलोकिलोमिटर सीमा क्षेत्रको मार्चपास पश्चात भोलि साँझ कोशी ब्यारेजमा प्रदेश टोली बिच झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको नम्बर ४ गण हेड क्वाटर सुनसरीले जनाएको छ ।


सशस्त्र प्रहरी बल नेपालले संगठनको २५ औं रजत महोत्सवको अवसरमा देशव्यापी झण्डा मार्चपास गरिरहेको छ ।राष्ट्रिय झण्डा र संगठनको झण्डा बोकी थालिएबको देशव्यापी मार्चपासकाकालागि सशस्त्र प्रहरीले पूर्व र पश्चिम गरी दुई मार्चपास टोली परिचालन गरेको छ । पूर्वी टोलीले झापाको काँकडभिट्टा र पश्चिम टोलीले कञ्चनपुरको गड्डाचौकीबाट झण्डा मार्चपास थालेको थियो । दुवै टोलीको मिलन बिन्दु भने पर्साको ठोरी कायम गरिएकाे छ ।


