
काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (ECAN) को आगामी केन्द्रीय निर्वाचनका लागि वर्तमान प्रथम सचिव भवनाथ हुमागाईंले महासचिव पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। यही पौष २८ गते हुने निर्वाचनमा उनले संघलाई अझ सशक्त, मर्यादित र प्रभावकारी बनाउने उद्देश्यसहित उम्मेदवारी दर्ता गराएका हुन्।

शैक्षिक परामर्श क्षेत्रमा लामो समयदेखि सक्रिय हुमागाईं ईक्यानको कार्यसमिति सदस्य हुँदै हाल प्रथम सचिवको जिम्मेवारीमा छन्। संगठन तथा आन्तरिक मामिला विभागको संयोजकका रूपमा उनले केन्द्र र शाखाबीचको समन्वय मजबुत बनाउँदै व्यवसाय नवीकरण प्रक्रिया पुनः सुचारु, नयाँ शाखा विस्तार तथा सदस्यता वृद्धि जस्ता महत्वपूर्ण कामहरू अगाडि बढाएका छन्।

उम्मेदवारी घोषणा गर्दै हुमागाईंले ईक्यानलाई केवल पेशागत संघमा सीमित नराखी नीतिगत तहमा प्रभाव पार्न सक्ने सशक्त संस्थाको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार केन्द्र–शाखा सम्बन्ध संस्थागत बनाउने, सरकार तथा अन्तर्राष्ट्रिय सरोकारवालूसँग संघको हैसियत बलियो बनाउने र आर्थिक पारदर्शिता तथा संस्थागत सुशासन कायम गर्नु उनका प्रमुख प्राथमिकता हुन्।


युवा तथा नयाँ उद्यमीहरूलाई समेट्दै दीर्घकालीन रणनीति कार्यान्वयन गर्ने, शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउने एजेन्डासहित उनी चुनावी मैदानमा उत्रिएका छन्। सफल शैक्षिक व्यवसायीसमेत रहेका हुमागाईंले अनुभव, निरन्तरता र स्पष्ट कार्यदिशाका आधारमा ईक्यानलाई एकताबद्ध र सम्मानित संस्थाको रूपमा अगाडि बढाउन व्यवसायी सदस्यहरूसँग विश्वास र मतको अपिल गरेका छन्।


