
मुस्लिम समुदायको प्रदर्शनले तनाव बढेपछि वीरगञ्जमा आज दिउँसो १ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज सूचना जारी गर्दै निषेधाज्ञा जारी गरेका हुन् ।

शनिबार धनुषाको एक मस्जिदमा भएको तोडफोडपछि वीरगञ्जमा हिजोदेखि नै मुस्लिम समुदायले प्रदर्शन चर्काएका हुन् । यसपछि वीरगञ्ज लगायत मधेशभरि विभिन्न स्थानमा दुई समुदायबीच तनाव बढेको छ ।

‘जिल्ला सुरक्षा समितिको निर्णयानुसार मिति २०८२/०९/२१ गते दिउँसो १:०० बजेदेखि अर्को आदेश नभएसम्म वीरगंज महानगरपालिकाका देहायका क्षेत्रहरुमा कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको छ। उक्त आदेशको उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गरिने व्यहोरा समेत सूचित गरिन्छ’ सूचनामा उल्लेख छ ।


पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शंकराचार्य गेटसम्म भित्रको क्षेत्रमा कर्फ्यु जारी गरिएको हो ।


