
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मिति तोकेपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको छ ।

महामन्त्रीद्वय थापा र शर्माले यही पुस २७ र २८ गते दुई दिन काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्ने निर्णय गरेका छन् । त्यसका लागि भृकुटीमण्डपको हलसमेत बुकिङ गरिसकिएको उनीहरूले बताएका छन् ।


विशेष महाधिवेशनको निर्णयबारे जानकारी पाएपछि सभापति देउवाले शीर्ष नेताहरूसँग छलफल गरेका थिए । त्यसलगत्तै पार्टीभित्र विकसित परिस्थितिबारे समग्र छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।
यसअघि नेपाली कांग्रेस केन्द्रीय समितिले पुस २६ गतेदेखि १५औँ नियमित महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर वडा र पालिका अधिवेशन हुन नसकेपछि महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशन बोलाउने निर्णय गरेका हुन् ।


