
भुम्लु गाउँपालिका–८ बन्देउस्थित जंगलको बीच भागमा सर्लाही जिल्लाका २४ वर्षीय छेन्दुक लामाले निराहार तपस्या सुरु गर्नुभएको छ। उहाँले २१ दिनसम्म साधनामा बस्ने संकल्प लिनुभएको बताइएको छ। तपस्या हिजो राति करिब ८ बजेदेखि आरम्भ भएको हो।

स्थल निरीक्षणका क्रममा तपस्वी बस्नुभएको आसनबाट करिब ५० मिटर टाढा उहाँका आफन्तजन बसोबास गर्दै सुरक्षा तथा निगरानी गरिरहेका देखिएका छन्। स्थानीयवासीका अनुसार तपस्या शान्त वातावरणमा भइरहेको छ र बाह्य आवत–जावतलाई नियन्त्रण गरिएको छ।

यस विषयमा भुम्लु गाउँपालिका अध्यक्ष प्रेम भुजेलले तपस्या धार्मिक आस्था र व्यक्तिगत संकल्पसँग जोडिएको विषय भएको उल्लेख गर्दै स्थानीय तहले आवश्यक सतर्कता अपनाइरहेको बताउनुभयो। अध्यक्ष भुजेलले भन्नुभयो, “धार्मिक आस्था र साधनाको सम्मान गर्दै हामीले स्थानीय प्रशासन र स्वास्थ्य पक्षसँग समन्वयमा अवस्था निगरानी गरिरहेका छौं। कुनै पनि आपत्कालीन अवस्था आए तत्काल सहयोग पुग्ने व्यवस्था मिलाइएको छ।”
गाउँपालिकाले तपस्यास्थल वरपर शान्ति–सुरक्षामा ध्यान दिनुका साथै स्वास्थ्यसम्बन्धी जोखिम नआओस् भन्ने उद्देश्यले सम्बन्धित निकायसँग समन्वय जारी राखेको जनाएको छ।




