आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं,
पुस ६ ।

संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालसहित विश्वभर मनाइँदैछ । नेपालमा विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक र सामाजिक संस्थाहरूले विशेष कार्यक्रमको आयोजना गरी यो दिवसको महत्वलाई उजागर गरिरहेका छन् ।

बिज्ञापन

संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा मान्यता दिँदै, डिसेम्बर २१ लाई ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको हो । यस निर्णयले मानव जीवनलाई तनावमुक्त र स्वस्थ बनाउने दिशामा ध्यानको प्रभावलाई विश्वस्तरमा फैलाउन ठूलो योगदान पुर्‍याएको छ ।

प्राचीनकालमा ऋषिमुनि र योगीहरूले आश्रममा ध्यान अभ्यास गर्दै मानिसलाई शान्त जीवनका उपाय सिकाउँथे । आजका दिनमा भने विपश्यना, जीवन विज्ञान, ओमशान्ति, पतञ्जलीजस्ता संस्थाहरूले ध्यानलाई आधुनिक जीवनशैलीमा समेट्ने प्रयास गरिरहेका छन् ।

ध्यान, मानसिक तनाव घटाउने र दिमागलाई विश्राम दिने प्रभावकारी विधि मानिन्छ । अध्यात्मसँग जोडिएको यो प्रक्रिया अब स्वास्थ्य र व्यक्तिगत विकासका लागि पनि उपयोगी मानिंदै आएको छ ।