फागुन २१ को निर्वाचन सुनिश्चित भइसकेको छ, शङ्का नगर्नुस् : मन्त्री खरेल 

# फागुन २१ को निर्वाचन सुनिश्चित भइसकेको छ, शङ्का नगर्नुस् : मन्त्री खरेल 
काभ्रे प्रेस
काभ्रे प्रेस || शुक्रबार, पुष ०४, २०८२
फागुन २१ को निर्वाचन सुनिश्चित भइसकेको छ, शङ्का नगर्नुस् : मन्त्री खरेल 

वर्तमान सरकार गठनको १०० दिनको सन्दर्भमा नेपाल टेलिभिजन र राष्ट्रिय समाचार समिति (रासस)सँगको कुराकानीमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले जेनजी आन्दोलनमा ७६ जनाको ज्यान गएको र प्रारम्भिक अनुमानअनुसार ८४ अर्ब रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको कठिन अवस्थाबाट सरकार समन्वयकारी भूमिकामार्फत हालको स्थिर अवस्थासम्म आइपुगेको बताए। आम नागरिकमा डर र त्रास कम हुँदै गएको र समाज सकारात्मक दिशातर्फ उन्मुख भइरहेको उहाँले स्पष्ट पारे।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने कार्यदेशसहित वर्तमान सरकार गठन भएको उल्लेख गर्दै मन्त्री खरेलले निर्वाचनको सुनिश्चितता भइसकेकाले अब कुनै शङ्का नगर्न आग्रह गरे। निर्वाचन आयोगले कार्यतालिका बनाएर काम गरिरहेको र राजनीतिक दल तथा जनता निर्वाचनप्रति उत्साहित रहेको उहाँको भनाइ छ। उहाँका अनुसार आठ लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् भने आवश्यक स्रोतसाधन, बजेट र जनशक्तिको व्यवस्थापन भइसकेको छ।

बिज्ञापन

सरकारले निर्वाचन आयोग र सुरक्षा निकायका लागि आवश्यक बजेटको व्यवस्था गरिसकेको र समयमै निर्वाचन सम्पन्न गराउन सरोकारवाला निकायसँग निरन्तर समन्वय भइरहेको मन्त्री खरेलले बताए।

सुशासनका सन्दर्भमा सरकारले खर्चमा मितव्ययिता अपनाउँदै आवश्यकताबाहिरका आयोजनाको बजेट कटौती गरेको र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनेतर्फ ध्यान दिएको उहाँले जानकारी दिए। भ्रष्टाचार नियन्त्रणका विषयमा विगतझैँ राज्य संयन्त्रमा दबाब नदिइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण मिलाइएको दाबी गर्दै उहाँले १०० दिनको अवधिमा ३० भन्दा बढी ठूला भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता भएको बताए। केन्द्रीय अनुसन्धान ब्यूरो र राष्ट्रिय सतर्कता केन्द्रले पनि स्वतन्त्र र व्यावसायिक ढङ्गले काम गरिरहेको उहाँको भनाइ थियो।

मन्त्री खरेलले जेनजी आन्दोलनका क्रममा उठाइएका विषयहरू सम्बोधन गर्दै सरकार र जेनजी पुस्ताबीच महत्वपूर्ण समझदारी कायम भएको जानकारी दिए। जेनजी विद्रोह वा आन्दोलन भन्ने अन्योललाई चिर्दै सरकारले त्यसलाई जनआन्दोलनको मान्यता दिएको र सो विषय राजपत्रमा प्रकाशित भइसकेको उहाँले बताए।

आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे छानबिन गर्न गठन गरिएको आयोगले विधि, प्रक्रिया र कानुनअनुसार स्वतन्त्र रूपमा काम गरिरहेको र सरकारले आयोगको कार्यक्षेत्रमा हस्तक्षेप गर्न नमिल्ने स्पष्ट पारे।

आसन्न निर्वाचनमा ९९ प्रतिशतभन्दा बढी राजनीतिक दलको सहमति रहेको उल्लेख गर्दै मन्त्री खरेलले अधिकांश दल उम्मेदवार सिफारिस र चुनावी अभियानमा जुटिसकेको बताए। केही दलले सुरक्षा चासो व्यक्त गरे पनि उनीहरू निर्वाचन र लोकतन्त्रप्रति प्रतिबद्ध रहेको भन्दै सरकारले शङ्का गर्न नहुने धारणा व्यक्त गरे।

भयरहित वातावरणमा स्वतन्त्र, निष्पक्ष र धाँधलिरहित निर्वाचन गराउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहोर्‍याउँदै मन्त्री खरेलले अधिकांश फरार कैदी कारागारमा फर्किसकेको र निर्वाचन अवधिसम्म सबैलाई नियन्त्रणमा ल्याउन गृह प्रशासन सक्रिय रहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up