
बनेपा । नेकपा (एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशनमा काभ्रेपलाञ्चोकबाट सचिव पदसहित ७ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये सचिव पदका उम्मेदवार तथा हालका पोलिटब्युरो सदस्य, पूर्वमन्त्री गोकुल बास्कोटा काभ्रेको प्रतिनिधित्व गर्ने सबैभन्दा चर्चित र प्रभावशाली नेताका रूपमा महाधिवेशनको केन्द्रमा देखिएका छन्।

हक्की शैली, स्पष्ट बोली र निडर निर्णय क्षमताका कारण पार्टीभित्र छुट्टै पहिचान बनाएका बास्कोटा एमालेको संगठनात्मक मजबुती, वैचारिक स्पष्टता र जनमुखी राजनीतिका पक्षमा उभिने नेताका रूपमा चिनिन्छन्। सरकारमा रहँदा होस् वा पार्टीको जिम्मेवारीमा, स्पष्ट अभिव्यक्ति र कार्यशैलीका कारण उनी निरन्तर चर्चामा रहँदै आएका छन्। महाधिवेशनमा सचिव पदका लागि उनको उम्मेदवारीलाई संगठनभित्र प्रभावशाली दाबीका रूपमा हेरिएको छ।

काभ्रेबाट केन्द्रीय सदस्य पदमा रेशम लामा, अशोक ब्याञ्जु, नविना लामा, रुक्मिणी राना बराइली, र जेनिश लामा उम्मेदवार बनेका छन्। यस्तै, बागमती प्रदेश भूगोलतर्फ केन्द्रीय सदस्य पदमा कञ्चन अधिकारीको उम्मेदवारी परेको छ।


रेशम लामा, नविना लामा र रुक्मिणी राना यसअघि पनि केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन्। अशोक ब्याञ्जु बागमती प्रदेश कमिटी सदस्य तथा एमाले काभ्रेका पूर्व अध्यक्ष हुन्। जेनिश लामा विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता हुन्।
उम्मेदवारी दर्तासँगै गोकुल बास्कोटासहित सबै उम्मेदवारहरूले प्रतिनिधिहरूसँग भेटघाट गर्दै समर्थन र मत माग्ने अभियान तीव्र पारेका छन्। काभ्रेबाट अनुभवी, युवा र प्रभावशाली नेताहरूको संयुक्त उपस्थितिले एमाले महाधिवेशनमा जिल्लाको राजनीतिक तागत प्रस्ट रूपमा देखिएको छ।


